काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र ५ मा पर्ने १० वटा सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीका लागि निःशुल्क कोचिङकक्षा सञ्चालनमा सहयोग प्रदान गर्नुभएको छ ।
जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन आफूले सो सहयोग गरेको सांसद चौधरीको भनाई छ । सोही क्षेत्रबाट यसअघिको संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ निर्वाचित चौधरीले डेढ महिनाका लागि शुरुगरिएको कक्षाबाट करिब तीनहजार विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
आफ्नो सांसद कोषबाट करिब पाँचलाख रुपियाँको सहयोगमा सो कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । सप्तरी निर्वाचन क्षेत्र नं ५ मा पर्ने जनता माध्यमिक विद्यालय, कमलेश्वरी माध्यमिक विद्यालय, भगवतपुर विद्यालय, रामदयाल विद्यालय, रामपूर्जामुवा लगायतका विद्यालयका विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गरिएको चौधरीले जानकारी दिनुभयो ।
पुस १८ गतेबाट शुरुभएको कक्षा माघ मसान्तसम्म सञ्चालन हुने सांसद चौधरीको भनाई छ । कक्षा सञ्चालनका लागि स्थानीय तथा बाहिरका नामचलेका शिक्षकहरुसँग कुरा भएको उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयका विद्यार्थीहरु सोझा र कमजोर रहने हुनाले निःशुल्क कक्षा सञ्चालनले थोरै भएपनि विद्यार्थी लाभान्वित हुने विश्वास आफूले लिएको उहाँले हमार पहुरा डट कमसँगको कुराकानीमा बताउनुभयो ।