काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडीखेलमा पुस २९ देखि शुरु हुन गइरहेको थारु माघी महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नारा आयोजकले तय गरेको छ ।
थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरेर पुस महिनाको अन्तिम दिन अर्थात् २९ गते तथा माघ १ गते एकता र सद्भावकोरुपमा माघि महोत्सवको आयोजना गरिएको संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
विगतका बर्षभन्दा फरक तरिकाले यस पटकको माघी महोत्सव मनाउने तयारी गर्दैछौँ संयोजक चौधरीले भने “व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीको प्रमुख आथित्यमा महोत्सव उद्घाटन हुँदैछ ।” महोत्सवमा विविध साँस्कृतिक प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।
त्यस्तै थरुहट नेता मिनराज चौधरीले यो बर्षको महोत्सव समाजको ऐनाको रुपमा आयोजना गरिएको बताए । साँस्कृतिक संयोजक दिपक चौधरीले माघि महोत्सवको बेग्लैै पहिचान रहेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको बताए । कार्यक्रमको मुल समारोहको दिन सभामुखलगायत अन्य नेताले सम्बोधन गर्ने आयोजकले बताएको छ ।
महोत्सवमा थारु साँस्कृतिक झाँकिर्याली प्रदर्शन, मुल समुद्घाटन, समारोह, विविध थारु साँस्कृतिक प्रदर्शनी, थारु खानपिन प्रदर्शनी एवं बिक्रि बितरण, हस्तकला प्रदर्शन लगायत पुर्व मेचिदेखि पश्चिम कञ्चनपुरसम्मका थारु भेषभूषा, पहिरन थारु मोडलहरूले प्रस्तुती दिने आयोजकले जनाएको छ ।