काठमाडौं, पुस २७ गते । नेपाल पत्रकार महासंंघले आफू मातहतका जिल्ला, प्रतिष्ठान र एशोसियटस् शाखाको अधिवेशन आगामी फागुन ३ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको छ । महासंघको केन्द्रीय कमिटीको पुस २६ र २७ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
महासंघको निर्णयअनुसार पश्चिमाञ्चलमा पर्ने जिल्लाको अधिवेशन फागुन ३ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, पूर्वाञ्चलमा पर्ने जिल्लाको फागुन ७ गते, मध्यपश्चिममा पर्ने जिल्लाको फागुन १२ गते, मध्यमाञ्चलमा पर्ने जिल्लाको फागुन १७ गते र सुदूरपश्चिमा पर्ने सबै जिल्लाको अधिवेशन फागुन २२ गते गर्ने निर्णय गरेको छ ।
महासंघले गरेको निर्णयअनुसार प्रतिष्ठान शाखाको फागुन २४ गते, एशोसियट्सको २५ गते र उपत्यका र कर्णाली क्षेत्रमा पर्ने जिल्लाको अधिवेशन फागुन २६ गते हुनेछ । फागुन मसान्तसम्म सबै जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन गरिसक्ने महासंघ केन्द्रको निर्णय छ ।
महासंघमा सबैभन्दा चासोको विषय नयाँ सदस्यताहरुको टुङ्गो लगाउनु हो । निर्वाचनको मुखैमा आएर सदस्यता विवादले महासंघको बैठकहरु लम्बिने गरेका छन् । यस पटक पनि महासंघले सदस्यताको विवाद टुंगो लगाउन सकेको छैन । सुदूरपश्चिम बाहेक सबै जिल्ला र क्षेत्रको सदस्यता टुंग्याउन बाँकी रहेको महासंघका अ्रध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो ।
अध्यक्ष विष्टकाअनुसार माघ १५ भित्र सबै सदस्यता नविकरण गरिस्रक्ने, माघ १० भित्र नयाँ सदस्यताहरुको टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।
अध्यक्ष विष्टकाअनुसार माघ १५ भित्र सबै सदस्यता नविकरण गरिस्रक्ने, माघ १० भित्र नयाँ सदस्यताहरुको टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ । सदस्यताको अन्तिम टुंगो लगाउन संयन्त्र गठन गर्ने कि सचिवालयलाई जिम्मेवारी दिने भन्ने छलफलमा रहेको भएपनि उपलब्ध केन्द्रीय कमिटीका सदस्यसहित सचिवालयले अन्तिम टुंगो लगाउने विषयमा करिब महासंघका पदाधिकारी सहमत देखिएका छन् ।
नयाँ सदस्यता लिने र दिने विषयमा सामान्य विवाद देखिएको भएपनि समयावधिभित्र टुंगो लाग्ने विश्वास अध्यक्ष डा. विष्टको छ । उहाँकाअनुसार क्राइटेरिया पुगेका सबै श्रमजीवि पत्रकार सदस्यता पाउनेछन् । महासंघमा आएको निवेदनअनुसार यस कार्यकालमा करिब दुईहजार पाँचसय जति नयाँ सदस्यता थपिन सक्ने अनुमान महासंघको छ ।
महासंघले यस कार्यकालमा केही जिल्लामा शुद्धिकरण समेत गरेकाले केही पुराना सदस्यता कम घट्ने अनुमान गरेको छ । जिल्ला, प्रतिष्ठान र एशोसियट्सका अधिवेशन सम्पन्न गरेर ०७४ वैशाख २० अघि केन्द्रीय अधिवेशन सम्पन्न गर्ने तयारी महासंघले गरेको छ । महासंघमा अहिले १० हजार ७७ सदस्य रहेका छन् ।