प्रेम चौधरी
धनगढी, माघ ९ गते । थारु समुदायको संस्कृति परम्पराको जगेर्ना तथा सरकारबाट पाउनु पर्ने अधिकारको मागगर्दै थारु समुदायले धनगढीमा आयोजना गरेको तीनदिने माघी खोज्नीबोजनी मेला सम्पन्न भएको छ ।
थारु समुदायमा माघलाई विशेष महिनाकोरुपमा लिदै परम्परादेखि गर्दै आएको गतिविधिबारे जानकारी दिनकालागि धनगढी उपमहानगरपालिका–५ तारानगर, जाई, जाली, हसनपुर र मटियारीको संयूक्त आयोजनामा विहीबारदेखि तारानगर देउथान मार्गमा माघी खोज्नीबोजनी मेला सुरु गरिएको थियोे ।
मेलाको उदघाटन कार्यक्रममा थारु अगुवाहरुले माघ महिनामा गरिने महत्वपूर्ण क्रियाकलापबारे जानकारी गराउदै खोसिएको अधिकारकालागि आब सरकारबाट खोज्नीबोजनी गर्ने बेला आएको बताए ।
थरुहट थारुवान संयूक्त संघर्ष समिति कैलाली कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरीले नयाँ संविधान थारुहरुलाई पूर्णअधिकार नदिएकाले अब सरकारसंग खोज्नीबोज्नी गर्नेबेला आएको बताउनुभयो ।
थारुहरुलाई अधिकार दिएजस्तो गर्ने तर राजनीतिक, सांस्कृतिक अधिकारबाट बञ्चित गर्दैआएकोले अब माग पुरा गराउन एकचोटी फेरी उठने बेला आएको संयोजक चौधरीले बताउनुभयो ।
जिल्ला विकास समिति कैलालीका योजना अधिकृत हर्कबहादुर कठायत थारु समुदायको रीति, कला संस्कृति परम्पराको धनी समुदाय रहेको यसलाई जोगाई राख्न आग्रह गर्नुभयो । हरेक समुदायको भाषा, कला, संस्कृति जोगिनु सरकार दायित्य रहेकोले जिविसबाट हुने सहयोगको लागि आफु पछि नपर्ने प्रतिबद्धता जनाउनुभयो ।
थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय उपमहान्त्री इन्दिरा चौधरीले दवाइएका अधिकार खोज्न यूवापिढी जागरुक भएरहेको बताउनुभयो । माघी महिना हरेक गाउँ, प्रत्येक घरको लागि हरहिसाब बार्षिकयोजना बनाउन महत्वपूर्ण मानिए पनि टीकापुर घटनामा झुठामुद्दा लगाएर करागारमा राखिएको २५ जना घरमुलीको घरमा खोजनीबोज्नी कसरी हुने भनेर उहाँले जिज्ञासा व्यक्त गर्नुभयो ।
थारु यूवा ठाकुरप्रसाद करियाप्रधानले पुर्खाले सिकाएका संस्कृतिलाई यूवापीढीले आंगल्ना जरुरी रहेको बताउनुभयो । कला, संस्कृति भेषभुषा परम्परा रहे पहिचान आफै जर्गेना हुने भन्दै यूवापुस्ता पनि आब हकअधिकारको लागि अघि सर्नु पर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा थारु महिला सभाका अध्यक्ष दुर्गा कुश्मी, थरुहट तराई पार्टी नेपालका जिल्ला अध्यक्ष विरु चौधरी, थरुहट थारुवान संयूक्त संघर्ष समितिका सदस्य हरिमोहन चौधरी लगायतले माघ महिना र थारु समुदायले गर्ने गतिविधिबारे चर्चा गर्नुभएको थियो ।
माघी खोज्नीबोज्नी मेला मुल आयोजक समितिका संयोजक तथा तारानगरका भल्मन्सा गोठुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक कुलविर चौधरी स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मेलामा मुङगहुवा, लठठहुवा, सखिया, झुम्रा, पोमा, होरीनाँच प्रस्तुत भएको थियो । त्यसैगरी थारु खानपान तथा विभिन्न परिकारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।