खाँचो ‘विकास पत्रकारिताको !’

लक्की चौधरी

लक्की चौधरी

हाम्रो समाजमा विकासको चर्चा हुनेवित्तिकै भौतिक संरचनासँग जोडेर हेर्ने गरिन्छ । पत्रकारितामा भौतिक संरचनासँग जोडिएका विकासको समाचार, लेख रचना, टिप्पणी, विश्लेषण गर्नासाथ विकास पत्रकारिता भनेर अथ्र्याइन्छ । सरसर्ती हेर्दा यही नै होकि जस्तो भान हुन्छ । तर सबैचिज यत्तिमै सीमित छैन । हिजोको व्याख्या विश्लेषण र आजको विश्लेषण, परिभाषामा भिन्नता छ । विकासलाई सतहीरुपमा मात्र बुझ्ने कि त्यसलाई गहिरिएर बुझ्ने भन्नेमा फरक छ । शहरिया शिक्षित, पढेलेखेको व्यक्तिले बुझ्ने विकास, नीति निर्माताले बुझ्ने विकास र गाउँको सामान्य खेतीकिसानीले जीवन धान्ने किसानले बुझ्ने विकासमा अवश्य फरक छ नै । ठूलठूला भवन निर्माण, पुल पुलेसा, क्याम्पस, शिक्षालय, कलकारखाना, अस्पताल, सडक बत्ति, नहर, कुलोपानी, रोजगारी, शहरीकरण, खानेपानी, सिंचाईको व्यवस्था हुनुलाई नै सतहीरुपमा विकास हो, भन्छौं हामी । विकासको परिभाषा यसैको सेरोफेरोमै केन्द्रीत छ । तथापि यी सबै चिजको यथोचित विकास गर्न पनि बौद्धिक विकास अनिवार्य हुन्छ । बौद्धिक विकासविना यी चिजको समुचित र व्यवस्थित विकास सम्भव छैन । पैसा हुँदैमा जसले पनि विकास गर्नसक्छ भन्ने होइन । विकास कुन तरिकाले गर्ने, समाज र वातावरणका लागि पनि त्यो विकास अनिवार्य हुनुपर्छ । कुनै अमुक व्यक्तिको उसको विकासले मात्र समाज र वातावरण लाभान्वित हुन्छ कि हुँदैन ? व्यक्तिले गर्ने विकास कति दिगो छ ? त्यो विकासले वातावरणमा कस्तो प्रभाव पारिरहेको छ ? यी पक्षमा ध्यान दिनुपर्छ नै ।

विकासको अर्थ मान्छे र समाजलाई खुशी पार्ने हुनुपर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन । शतप्रतिशत सबै मानिसलाई विकासबाट खुशी पार्न सकिन्छ भन्ने होइन ।

विकासको अर्थ मान्छे र समाजलाई खुशी पार्ने हुनुपर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन । शतप्रतिशत सबै मानिसलाई विकासबाट खुशी पार्न सकिन्छ भन्ने होइन । विचार र उसको प्रवृत्तिले विकासको परिभाषालाई फरक पारिदिन्छ । त्यसैले विकासको अर्थ बहुआयामिक छ । कसलाई विकास भन्ने ? के भयोभने पूर्ण विकास हुन्छ ? परिभाषा अझै विश्वव्यापीरुपमा दिन सकिएको छैन । तथापि विकास त्यस्तो हुनुपर्छ जसबाट बहुसंख्यकको हित होस् । धेरैलाई लाभान्वित गरोस् । धेरैलाई सन्तुष्टि मिलोेस् । उसो त विकास सबै पक्षसँग जोडिन्छ । शिक्षा, मनोरन्जन, कृषि, रोजगार, संस्कृति, समाज, राजनीति, धर्म, शहर, गाउँ, व्यक्ति, समाज, देश, राष्ट्र, राज्य आदि इत्यादि । कुनै एक पक्षको विकास नहुँदा समाज अघि बढ्न सक्दैन पनि । समाजको सन्तुलित विकासविना देश र राष्ट्रको विकास सम्भव हुँदैन । व्यक्ति र समाजको चाहनाअनुरुप विकासको व्याख्या गर्ने प्रबृत्ति छ यहाँ । कसैले दुई छाक खान पुग्दैमा विकास भयो भन्छ, कोही राम्रो लाउन पाएमा, कोही प्रशस्त पैसा आर्जन गर्न पाएमा, आलिसान घर बनाउँदा, विदेशी बैंकमा पैसा जम्मा गरेर विकास भएको महशुस गर्छ । यी सबै व्यक्ति र समुदायको बुझाईको कुरा हो । समग्रतामा हाम्रो देशको परिस्थिति र नागरिकको चाहनासँग सम्बन्धित पक्ष नै विकाससँग गाँसिएको हुन्छ । त्यसैअनुरुप विकास भएमा नागरिक सन्तुष्ट हुन्छन् । नागरिकको अधिक्तम सन्तुष्टि नै सही विकास हो । विकास पत्रकारिताले ध्यान दिनुपर्ने पक्ष यही हो ।

विकास पत्रकारिताबारे धारणाः
विकास पत्रकारिता समग्र विकाससँग सम्बन्धित छ । यसको परिभाषा गर्न निकै कठिन छ । मानव जीवनमा गुणात्मक परिवर्तन ल्याउन सक्नु नै विकास पत्रकारिताको ध्येय हो, हुनुपर्छ । परम्परागत पत्रकारिताले समग्र विकास सम्भव नहुन सक्ला । प्रविधिजन्य पत्रकारिता, समयसुहाउँदो प्रविधिमैत्री पत्रकारिताले नै समयको मागअनुरुप विकास गर्न सक्ला । प्रविधि भएरमात्र पनि सबैचिज पूरा भैहाल्ने होइन । प्रविधिको सही ज्ञान र त्यसको सदुपयोग अनिवार्य हुन्छ । समाचार पस्कनेक्रममा पत्रकारको हतार गर्ने बानि हुन्छ । त्यसैले पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ । अधुरो समाचारले के विकास गर्ला ? सूचना नै अपूरो भयो भने नागरिकको सोचाईलाई कसरी परिवर्तन गर्न सक्ला ? पाठक, दर्शकको चाहना नै पूरा भएन भने त्यसले गर्ने काम र बनाउने धारणाले पूर्णरुप पाउन सक्दैन । त्यसैले पत्रकारिता पहिले सही, सत्यतथ्य र पूर्ण हुनु अनिवार्य हुन्छ । अर्को कुरा, पत्रकार प्रायः सतही समाचारको पछिलाग्ने गर्छ । तथ्यको गहिराईमा गएर उजागर गर्ने पत्रकारिताले मात्र सही विषयको विश्लेषण गर्छ र त्यसले दिने सन्देश र सूचनाले नागरिकलाई सकारात्मक प्रभाव पार्नसक्छ । खोजमूलक पत्रकारिताले अन्य पत्रकारिताभन्दा विकासमा बढी मद्दत गर्छ ।

अधिकारीहरुले कागजमा विकास देखाउने तर रकम खल्तीमा हुल्ने गल्ती गरेका रहेछन् भने त्यसको जानकारी नागरिकले पाउनुपर्छ । त्यसो हुन सकेमा पारदर्शीता कायम हुन्छ । पारदर्शीता भएमा विकासमा टेवा पुग्छ ।

विकासका लागि गर्ने पत्रकारिता जोखिमपूर्ण हुन्छ । सरकारले हरेक वर्ष विकासका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्छ । सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न विकासे शीर्षकमा कार्यक्रम सञ्चालन गर्छन् । सो रकम खर्च पनि हुन्छ । तर खर्च कसरी भयो ? वास्तविक विकासमा कति खर्च भयो र व्यक्तिको खल्तीमा कति गयो ? यसको खोज अनुसन्धान मिडियाले सहीरुपमा गर्न सकेमा विकास र पारदर्शीताले गतिलिन सक्छ । तर मिडियाले त्यो काम यथोचितरुपमा गर्न सकेको देखिदैन । अधिकारीहरुले कागजमा विकास देखाउने तर रकम खल्तीमा हुल्ने गल्ती गरेका रहेछन् भने त्यसको जानकारी नागरिकले पाउनुपर्छ । त्यसो हुन सकेमा पारदर्शीता कायम हुन्छ । पारदर्शीता भएमा विकासमा टेवा पुग्छ । विकासे पत्रकारको नजर त्यता जान जरुरी छ । तर त्यस्तो सूचना लिन पत्रकारले धेरै मेहनत गर्नुपर्छ । समय, शक्ति र स्रोतसाधनको पनि खर्च हुन्छ । घटनाको गहिराईमा पुग्दा विभिन्न अवरोध र बाधाहरुको सामना गर्नुपर्ने हुन्छ । रकमको दुरुपयोग गर्नेले विभिन्न प्रलोभनमा पार्ने प्रयास गर्नसक्छ । प्रलोभनमा नपर्ने पत्रकारलाई धम्की र त्रास पनि आउनसक्छ । तर पत्रकार प्रलोभनमा लहसिएमा उसको पत्रकारिता त्रुटीपूर्ण हुनजान्छ । समाज र नागरिकलाई सूसुचित गर्नेगरी उसले सूचना प्रवाह गर्न सक्दैन । आफ्नो स्वार्थ पूरागर्न उसले समाजलाई, पाठकलाई दिग्भ्रमित गर्न पुग्छ । पत्रकार यो मामिलामा सदैव सचेत रहनुपर्छ । धम्की आए आवस् समाज र नागरिकका लागि कसम खाएर गरिने पत्रकारिताले व्यक्तिगत जोखिम निम्त्याए पनि समाज र देशका लागि अन्ततः फाइदा गर्छ ।

कतिपय अवस्थामा पत्रकारले बढी जिम्मेवारी लिनुपर्ने हुन्छ । जहाँ सरकारको उपस्थिति हुँदैन, त्यहाँका नागरिक राज्यबाट पाउने स्रोतसाधन र सुविधाबाट बन्चित हुन्छन् । त्यस्तो दूर्गम ठाउँको वास्तविक रिपोर्ट र समस्याहरुबारे सरकारसम्म सूचना प्रवाह गर्ने काम पत्रकारको हो । पत्रकारले लेखेपछि कैयौं नागरिकका चासोको विषय राज्यसम्म पुग्छ । त्यही सूचना र समाचारको आधारमा सरकारले विकासे योजना बनाउन सक्छ । त्यसैले पत्रकारको भूमिका भनेको पुलको काम हो । जनता र सरकारबीचको सेतुको काम गर्ने हुनाले नै पत्रकारिता जगतलाई चौथो अंगको दर्जा दिइएको हो ।

सन् १९६० को दशकमा बेलायती एक सञ्चारविद् एलान बी. चल्क्लीले विकास पत्रकारिताको अवधारणा शुरुगरेका थिए । सोपछि नै विकास पत्रकारिताको शुरुवात भएको हो भन्ने तर्क छ । नेपाली परिवेशमा कुरागर्दा पहिलो पञ्चवर्षिय योजना २०१३ सालतिर फर्कनु पर्ने हुन्छ । तर त्यसको वास्तविक अभ्यास भने २०२८ सालपछि भएको मानिन्छ । सो समय राष्ट्रिय सञ्चार नीतिमै ‘विकासका लागि सञ्चार’ शब्दावली राखिएको थियो । हाम्रो यहाँ पत्रकारिताको ट्रेण्ड भनेको राजनीतिजस्तो छ । राजनीतिक समाचार र गतिविधिले अखबारका पाना भरिएका हुन्छन् । टेलिभिजन र रेडियोको समाचार बुलेटिनमा विकासे समाचारले निकै कम महत्व पाउनेगरेका छन् ।

विकास पत्रकारिता मूलतः ग्रामीण र स्थानीय पत्रकारिता हो भनेर पनि टिप्पणी गर्ने गरिन्छ । ग्रामीण क्षेत्रमा जहाँका नागरिक र स्थानको विकास भएको हुँदैन, त्यसकै समाचार र रिपोर्टिङ गर्नुपर्ने भएकाले पनि विकास सम्बन्धी रिपोर्टिङलाई ग्रामीणको संज्ञा दिइएको हुनसक्छ । तर जहाँ गाउँ छैन, शहरले भरिएको छ भने के त्यहाँ विकास पत्रकारिता हुँदैन त ? भन्ने जिज्ञासा आउँछ । तर शहरमा पनि अनेक विकृति र विसंगति हुन्छन् । त्यही गलत विकृति विसंगतिलाई सही संस्कार र दायरामा ल्याउन विकास पत्रकारिताको खाँचो पर्छ ।

विकास पत्रकारिता किनः
हाम्रो यहाँ सदियौंदेखि राज्य र सरकार थिए । मिडिया नभए पनि सरकार चले । भुरेटाकुरे राजा रजौटाले शासन चलाए । सञ्चारमाध्यम नभए पनि विकासका काम त थोरबहुत भए । मिडिया होस् कि नहोस् गतविधि त चलि नै रहन्छन् । तर मिडिया भएको विकास र नभएको विकासमा निकै अन्तर हुन्छ । मिडिया भएमा राज्य र सरकारले गरेको कामको जानकारी नागरिकलाई हुन्छ । उनीहरुले चासो राख्छन् र विकासको काम नागरिकले चाहेकोजस्तो हुनजान्छ । मिडिया नभएको ठाउँमा शासकले जस्तो चाहन्छन्, त्यस्तै विकासको मोडल बन्छ । नागरिकले त्यसमा सहभागीता जनाउन सक्दैनन्, पाउँदैनन् । त्यो विकास लादिएको विकास हुनजान्छ । नागरिकलाई विकासमा सहभागिता गराउने भूमिकामा मिडिया भएकाले विकास पत्रकारिताको खाँचो समाजलाई परेको हो ।

विकास पत्रकारिता समाजको रुपान्तरणका लागि हो । सकारात्मक रुपान्तरणका लागि विकास पत्रकारिताको खाँचो परेको हो । विकासको नाममा जे पायो त्यही लेख्नु र छाप्नु भनेको होइन ।

विकास पत्रकारिता समाजको रुपान्तरणका लागि हो । सकारात्मक रुपान्तरणका लागि विकास पत्रकारिताको खाँचो परेको हो । विकासको नाममा जे पायो त्यही लेख्नु र छाप्नु भनेको होइन । समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका लागि विकास पत्रकारिताको खाँचो परेको हो । के हामीले त्यसकालागि समुचित रिपोर्टिङ गर्न सकेका छौं त ? छैनौं भने आजैबाट सोचौं र लागौं । विकास पत्रकारिताले नभएको विकास, भएको विकास र हुनुपर्ने विकासका बारेमा पनि निरन्तर कलम चलाउन सुझाउँछ । कतिपय विषय विकास भएर पनि सही दिशामा गएका हुँदैनन् । त्यसलाई सही ठाउँमा ल्याउने, नभएका विकासकानिम्ति सुझाव र दवाव दिने, हुँदै नभएका विकासकानिम्ति नयाँ योजना बनाउने काममा पनि मिडियाले सहयोग गर्नसक्छ । त्यसैले विकास पत्रकारिताको खाँचो विकासोन्मुख देशमा अझ बढी छ ।

विकास पत्रकारिताको सम्बन्ध सिधै पारदर्शीता र सुशासनसँग जोडिएको छ । विकासकानिम्ति छुट्याइएका बजेट के कति खर्च भए, कसरी खर्च भए ? कति खर्च भएन, किन भएन ? यावत विषय बजेटसँग जोडिएका छन् । सहीरुपमा खर्च भएर परिणाम आएको हो कि होइन । उत्पादित सामानको दिगोपन र गुणात्मकताका विषयलाई समेत मापन गरेर त्यसबारे जानकारी लिन सक्नुपर्छ । पत्रकारले यी विषयको जानकारी नागरिकसम्म लगेर पारदर्शीता र सुशासनकानिम्ति काम गर्न सक्छन् । नराम्रोलाई राम्रो बनाउने, गलतलाई सही बनाउने, पुरानोलाई नयाँ बनाउने, चाँडो बासीहुने समाचारमा ताजापन ल्याउने, समाचारको आयुलाई लम्ब्याउने काम नै विकास पत्रकारिता हो । विकाससँग सम्बन्धित यस्ता खोजपूर्ण र तथ्यपूर्ण समाचारहरु तत्कालै बासी हुँदैनन् । पाठकलाई लामो समयसम्म स्वाद दिइ नै रहन्छन् ।

निस्कर्षः
वरिष्ठ पत्रकार मोहन मैनालीले भन्ने गर्नुहुन्छ, “विकास पत्रकारिता तोरीको साग रोपेकोजस्तो होइन । एकचोटी टिपेपछि पछि टिप्नै  नमिल्ने । विकास पत्रकारिता त फलफूलको खेतीजस्तो हुनुपर्छ, ताकि सिजनपिच्छे टिप्न पाइयोस् । रायोको सागको खेतीजस्तो, एकचोटी टिपेपछि पुनः टिप्न पाइयोस् ।” विकास पत्रकारिताको सार्थकता तब हुन्छ जब त्यसले बढीभन्दा बढी पाठक, श्रोताको विवेकमा परिवर्तन ल्याउन सक्छ । आजभोलि विकासको अर्थलाई व्यक्तिको सकारात्मक विचार रुपान्तरण गर्ने पक्षलाई पनि लिने गरिन्छ । समाज र नागरिक सकारात्मक सोचकासाथ काममा लागेमात्र सही विकास सम्भव हुन्छ । विना सही चेतनाले गरेका कामको प्रतिफल सकारात्मक हुन   सक्दैन । त्यसैले विकास पत्रकारिताले बढीभन्दा वढी पाठक र स्रोताको बुद्धि, विवेक र ज्ञान परिवर्तन गर्नमै केन्द्रीत हुनुपर्छ । समाज रुपान्तरणका लागि पहिले नागरिकको सोचाई र प्रबृत्तिको रुपान्तरण अनिवार्य मानिन्छ । विकास पत्रकारिताको ध्यान त्यता केन्द्रीत गर्न सकेमा एकातिर समाज रुपान्तरण गर्नमा सघाउ पुग्छ, अर्कोतिर नागरिकले सही सूचना प्राप्त गर्न पाउँछन् । त्यसैले अबको खाँचो विकास पत्रकारिताको हो ।

तपाईको प्रतिक्रिया