मेची–महाकाली राष्ट्रिय अभियान एमालेका लागि भाग्य र भविष्य !


लक्की चौधरी
काठमाडौं, माघ २५ गते । नेकपा (एमाले) ले आगामी फागुन २१ देखि गर्ने पन्ध्रदिने मेची महाकाली राष्ट्रिय अभियान ऐतिहासिक हुने दावी गरेको छ । अभियान एमालेको भाग्य र भविष्यसँग जोडिएको बुझाई नेताहरुको छ ।

विभिन्न पाँच भाषाको पोष्टर, पम्पलेट, बुकलेट, बुलेटिन लिएर विशेष तयारीकासाथ तराई मधेसमा शुरु गर्न लागेको सो अभियानले एमाले विरुद्ध गरिएका झुठा प्रचार, भ्रम र अस्पष्टतालाई समेत चिर्ने नेताहरुको दावी छ । तराईका करिब ५० लाख जनतासँग एमालेको प्रत्यक्ष, अप्रत्यक्ष अभियानले सहकार्य गराउने एमालेको बुझाई छ ।

अभियानको तयारीमा पार्टी पंक्ति जुटेको र त्यसको व्यवस्थापनका लागि विभिन्न कमिटी तथा उपकमिटीहरु पार्टीले गठन गरेको छ । तराई मधेस र मध्य तराईमा बोलिने भाषाहरु मैथली, भोजपुरी, थारु, डोटेली, अवधीमा अभियानमा दिने सन्देशकालागि बुलेटिन, पम्पलेट र पुस्तिकाहरु प्रकाशन गरिएको एमालेले जानकारी गराएको छ । यसअघि सो दलले पाँच भाषामा नयाँ संविधानको उल्था गरेर पुस्तिका प्रकाशन गरिसकेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलकाअनुसार अभियान पार्टीको अस्तित्वसँग जोडिएकाले तिव्र तयारी थालिएको छ । एमालेविरुद्ध तराई मधेसमा फैलाइएका भ्रम र अस्पष्टतालाई पन्ध्र दिनमा पार्टीले चिर्ने र जनतामा नयाँ सन्देश दिने दावी पोखरेलले गर्नुभयो । “यो अभियान एमालेका लागि ऐतिहासिक सावित हुनेछ, त्यसैले पूरै पार्टी पंक्ति एक ढिक्का भएर तयारीमा जुटेको छ” उहाँले भन्नुभयो ।

झापाको काँकडभित्ताबाट फागुन २१ गते शुरुहुने अभियान चैत ५ गते सुर्खेतमा जनसभा गरेर समापन हुने सो दलले बताएको छ । अभियान अन्तर्गत पहिलो दिन काँकडभित्ता, विर्तामोड र दमक, दोस्रो दिन विराटचोक र इटहरीमा विशाल जनसभा प्रदर्शन हुनेछन् ।

अभियानले नयाँ संविधानको कार्यान्वयन, आगामी निर्वाचन र राष्ट्रियता र सार्वभौमिकताबारेमा गतिलो सन्देश जनतामा लग्नेछ भन्दै पूर्व मन्त्रीसमेत रहनुभएका पोखरेलले अभियानमा पार्टीका शीर्ष नेताहरुको सक्रिय उपस्थिति रहने बताउनुभयो । अभियानलाई सफल पार्न जिल्ला र क्षेत्रीयस्तरमा तिव्र तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।

झापाको काँकडभित्ताबाट फागुन २१ गते शुरुहुने अभियान चैत ५ गते सुर्खेतमा जनसभा गरेर समापन हुने सो दलले बताएको छ । अभियान अन्तर्गत पहिलो दिन काँकडभित्ता, विर्तामोड र दमक, दोस्रो दिन विराटचोक र इटहरीमा विशाल जनसभा प्रदर्शन हुनेछन् ।

त्यस्तै, तेस्रोदिन इनरुवा, राजविराज र पूर्वको कञ्चनपुर, चौथोदिन गोलबजार, पाँचौदिन जनकपुर, वर्दिवासमा जनसभा हुनेछ । त्यस्तै, छैठौंदिन हरिपुर, गरुडा र चन्द्रनिगाहपुरमा कार्यक्रम हुनेछ । सोहीअनुसार सातौं दिन फागुन २७ गते जितपुर र हेटौंडामा प्रदर्शन हुनेछ । आठौं दिन भण्डारा, भरतपुर र कावासोतीमा जनप्रदर्शन र जनसभा हुनेछ । नवौंदिन भुमही, भैरहवा, बुटवलमा, दशौं दिन चन्द्रौटा, लमही र घोराहीमा, एघारौं दिन चैत १ गते बाँकेको नेपालगञ्ज र वर्दियाको गुलरीयामा जनसभा सम्पन्न हुनेछ ।

त्यस्तै, बाह्रौंदिन वर्दियाको राजापुर, कैलालीको टीकापुर र लम्कीमा, तेह्रौंदिन कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा जनसभा आयोजना हुनेछ । चौधौंदिन कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन र पन्ध्रौंदिन सुर्खेतमा जनप्रदर्शन र जनसभा कार्यक्रम गरेर अभियान समापन गर्ने तयारी पार्टीले गरेको पार्टी कार्यालयका सचिव तथा नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

अभियानमा सहभागिताका लागि पार्टीले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा स्थायी टोली निर्माण गरेको छ । सो टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल रहनुभएको छ ।

राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान मूलनारा तय भएको सो अभियानले तराई मधेसका नागरिकसँग एमालेको सम्बन्धलाई गाधा र सदृढ बनाउने आशा एमालेले गरेको नेता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, भेला तयारी र व्यवस्थापनकालगि सातवटै प्रदेशमा नेताहरुको जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालय सचिव श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार प्रदेश नं. १ का लागि सुवासचन्द्र नेम्वाङ र योगेश भट्टराई, प्रदेश नं. २ का लागि मुकुन्द न्यौपाने र केशव बडाल, प्रदेश नं ३ का लागि सुरेन्द्र पाण्डे, अमृत बोहरा र पुष्प कँडेललाई जिम्मेवारी तोकेको   छ ।

त्यस्तै, प्रदेश नं ४ का लागि सोमनाथ प्यासी, प्रदेश नं. ५ का लागि घनश्याम भुषाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र शंकर पोखरेल, प्रदेश नं. ६ का लागि छविलाल विश्वकर्मा र प्रदेश नं ७ का लागि पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी तोकेको छ ।

नेता श्रेष्ठकाअनुसार जनसभामा प्रदेश संगठन कमिटी, जिल्ला कमिटी र त्यस मातहतका अन्य कमिटीलाई पूर्णतः परिचाल गर्ने तयारी एमालेको छ । राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान मूलनारा तय भएको सो अभियानले तराई मधेसका नागरिकसँग एमालेको सम्बन्धलाई गाधा र सदृढ बनाउने आशा एमालेले गरेको नेता श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया