अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना बारामा पक्राउ


दुष्यन्त चौधरी
बारा, माघ २५ गते । दुबईमा बसी अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना नेपाली नागरिकलाई पक्राउ गरी बारा प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

विभिन्न अपराधमा संलग्न मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क बस्ने ४८ वर्षीय समसुल होदासहित पाँच जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

गत पौष १० गते बाराको हरैया वडा नम्बर ८ स्थित सहजनाथ सामुदायिक वनमा भारतीय नागरिक अरूण राम तथा दिपक रामलाई हातखुट्टा बाँधि धारीलो हतियार प्रयोग गरि घाँटी रेती हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेका महागढीमाई नगरपालिका १ सेमरा तेगछियाका २७ वर्षीय गिरी बाबा भन्ने वृजकिशोर गिरी, कलैया नगरपालिका–१० का ३५ वर्षीय सुमो चालक मोजाहिर अन्सारी, आपराधिक कार्यमा फोनसम्पर्क भएका व्यक्ति कलैया–४ का २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेश कुर्मीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पुस २४ गते गिरीलाई पर्साको बिजवनिया गाउँबाट ६ राउन्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्दा उनको देब्रे खुटामा एक गोली लागेको थियो। गिरीको काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

भारतको बिहार राज्यको रेलवे ट्रयाकमा बम विस्फोट गराउन नेपाली र भारतीय नागरिकहरु परिचालन गरेको अनुसन्धानबाट खुलेपछि नेपाल र भारत दुवै तर्फका प्रहरीले होदाको खोजी गरिरहेको थियो ।

ब्युरोको अनुसन्धानमा होदा भारतीय नक्कली रुपैंया कारोबारमा ब्युरोको निगरानीका ब्यक्ती भएको र उनी दुबईमा पुगेको खुलेपछि ब्युरोले होदाको सम्पर्कमा रहेका ब्यक्ती मार्फत उनलाई नेपाल फर्काउन प्रहरी सफल भएको प्रहरी उपरीक्षक उप्रेतीले बताउनुभयो ।

भारतीय सुरक्षा निकायले समेत खोजी गरिरहेका होदा आफैं शनिबार नेपाल आएपछि ब्युरोले पक्राउ गरेर प्रारम्भिक बयान अनुसार मुद्दा चलाई रहेका जानकारी दिएको छ ।

भारतको बिहार राज्यको रेलवे ट्रयाकमा बम विस्फोट गराउन नेपाली र भारतीय नागरिकहरु परिचालन गरेको अनुसन्धानबाट खुलेपछि नेपाल र भारत दुवै तर्फका प्रहरीले होदाको खोजी गरिरहेको थियो ।

भारतीय दुई युवक दिपक राम तथा अरुण राम गत असोज १४ घटस्थापनाका दिन बारा सिम्रौनगढको सीमावर्ती सहर घोडासहनको रेल्वे लिकमा बम राखेर रेल उडाउने योजना बनाएका थिए । पाँचै जनामाथि सोमबार बारा जिल्ला अदालतमा प्रहरीले कर्तव्य तथा संगठित अपराध मुद्दा चलाई म्याद थप गरेको छ।

होदा मलेसियामा बसेर काम गरेको रकम नेपालमा आएर व्यापार र राजनीति गर्दा सकिएपछि आफू आपराधिक गतिविधिमा लागेको होदाले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्।

उनको सम्बन्ध नेपाल, भारत, मलेसिया, दुबई, पाकिस्तानका अन्तर्राष्ट्रिय गिरोहसँग देखिएको तर कुन आपराधिक संगठनसँग होदाको सम्बन्ध छ भन्ने बारेमा प्रहरीले खुलाउन चाहेन।

पत्रकार सम्मेलनमा नारायणी अंचलका प्ररहरी प्रमुख नारायण खड्का, प्रहरी निरिक्षक अरूण कुशवाहा, प्रहरी नायब निरिक्षक प्रकाश वाग्ले, प्रहरी सहायक निरिक्षक राजेश जैसवाल लगायतका प्रहरीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया