धनगढी, माघ २७ गते । तराई मधेस र थरुहट क्षेत्रमा संविधान जारी हुँदाताका भएका घटना छानबिन गर्न गठित उच्चस्तरीय तराई मधेस थरुहट जाँचबुझ आयोगको टोली टीकापुर घटनाको स्थलगत अध्ययन शुरु गरेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्ष रहेको ६ सदस्यीय जाँचबुझ आयोगको टोलीमा अध्यक्ष लालसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी सुखचन्द्र झा, नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल, पूर्वसरकारी वकिल सूर्यलाल कोइराला र सदस्यसचिव गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी टीकापुर पुगेका छन् ।
टोलीका सदस्य खुसीप्रसाद चौधरीले न्यायाधीश नियुक्त भएपछि आयोगको सदस्यबाट राजीनामा दिएकाले आयोगमा अहिले ६ सदस्यमात्र छन् ।
टोलीले टीकापुर घटनामा मारिएका अढाइबर्से टेकबहादुर साउदको परिवारसँग भेटेर घटनाबारे सोधपुछ गरेको छ । ‘हामीले बालकको घरमा गएर सोधपुछ गर्यौं आयोग अध्यक्ष लालले भने । टोलीले २०७२ भदौ ७ गते घटना भएको पशुहाटबजार र टीकापुर नगरपालिका आसपासका क्षेत्रको पनि अनुगमन निरीक्षण गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित अन्य प्रहरी मारिएको घटनास्थल पशुहाटबजार आसपासको अनुगमन निरीक्षण गरेको, स्थानीयसँग सोधपुछ र भेटघाट गरेको अध्यक्ष लालले बताए ।
आयोगका अध्यक्ष लालले सर्सर्ती हेर्दा टीकापुर घटना आक्रोशमा भएको देखिएको बताए । ‘टीकापुर घटना जानीजानी गराएजस्तो छैन
आयोगलाई तराई मधेस र थरुहट आन्दोलनमा भएका मानवअधिकार उल्लंघनका एकहजार १७२ उजुरीको जाँचबुझ गरी ६ महिनाभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेट दिइएको छ ।
भदौ ४ गते टीकापुर नजिकैको दुर्गौलीमा अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच झडप भएको थियो भने भदौ ७ गते टीकापुरमा अढाइबर्से टेकबहादुर र ८ जना प्रहरी मारिएका थिए ।
टीकापुर अनुगमन निरीक्षणपछि दुईखालका भनाइ देखिएका छन् । अखण्ड सदूरपश्चिम पक्षधरको र थरुहट पक्षधरले बेग्लाबेग्लै भनाइ राखेका छन् । ‘हामीले दुवै पक्षका भनाइ टिपेका छौं लालले भने ।
आयोगले छानबिनपछि सबै तथ्य प्रतिवेदनमा उल्लेख गर्ने भन्दै आयोगका अध्यक्ष लालले सर्सर्ती हेर्दा टीकापुर घटना आक्रोशमा भएको देखिएको बताए । ‘टीकापुर घटना जानीजानी गराएजस्तो छैन, आक्रोशपूर्ण घटना देखिन्छ उनले भने, ‘यसमा दुवै पक्षबीच आक्रोश रहेकोजस्तो देखियो ।
टोलीले बुधबार नागरिक समाजसँग पनि अन्तरक्रिया गरेको छ । ‘टीकापुरको नागरिक समाजद्वारा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले छलफल गरेका छन् । आयोग गठनको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएको थियो । आयोगलाई कात्तिक २ गतेदेखि जाँचबुझ गरी चैत मसान्तभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ ।
यसअघि सरकारले टीकापुर घटना छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तोकेकै समयमा प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
यसअघि सरकारले टीकापुर घटना छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तोकेकै समयमा प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
टीकापुर घटनामा संलग्न रहेको भन्दै फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू, तत्कालीन थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीसहित २० जना थारू नेता, अगुवा र कार्यकर्ता कैलाली कारागारमा छन् । उनीहरूलाई टीकापुर घटनामा सुरक्षाकर्मी र नाबालकको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।
लक्ष्मण थारूले केही दिनअघि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजीनामा दिएको घोषणा गरिसकेका छन् । पार्टी सरकारमा रहँदा पनि थुनिएकाको रिहाइ गराउन कुनै पहल नगरेको भन्दै थारूले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
अहिले पुर्पक्षका लागि हिरासतमा रहेकाका परिवारका सदस्य र आश्रितले पनि परिवारको बिचल्ली भएको भन्दै पटकपटक प्रशासनमार्फत सरकारसँग उनीहरूको रिहाइको माग गर्दै आएका छन् ।