परिवर्तन संस्थागतमा मिडियाको भूमिका अतुलनीयः प्रधानमन्त्री प्रचण्ड


लक्की चौधरी
काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्धारण गरेको वैशाख ३१ मै स्थानीयतहको निर्वाचन सम्पन्न गर्न नेपाली मिडियाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । मुलुकका लागि गणतन्त्र प्राप्तीको आन्दोलनमा मिडियाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले त्यसको संस्थागतका लागि पनि मिडियाको सहयोग अपरिहार्य रहेको तर्क गर्नुभयो ।

प्रेस काउन्सिल नेपालले दिवंगत एवं संघर्षशील पत्रकारको स्मृति र सम्मानमा निर्माण गरेको पत्रकार स्तम्भको मंगलबार यहाँ अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनुभयो । “मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सबै एक भएर अभियान चलायौं, त्यसैगरी अव संस्थागत गर्न निर्वाचनको अभियानमा पनि मिडियाले त्यसैगरी सहयोग गर्नुपर्छ” उहाँले भन्नुभयो ।

‘मुलुकमा कुनै चिजको तिव्र विकास भएको छ भने त्यो मिडियाकै हो’ भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाली मिडियाले मलाई सहयोग नगरेको भए, यत्तिबेला म कहाँ हुन्थे, मलाई नै थाहा छैन ।”

लामो समयसम्म स्थानीयतहमा जनप्रतिनिधि नहुँदा जनता निराश रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अव हुने निर्वाचनले जनतालाई वास्तविकरुपमा लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयसम्म स्थानीयतहमा जनप्रतिनिधि नहुँदा जनता निराश रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अव हुने निर्वाचनले जनतालाई वास्तविकरुपमा लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो । पत्रकारितामा जीवन समर्पण गर्नेहरुको सम्झनामा पत्रकार स्तम्भ निर्माण गरेकोमा उहाँले प्रेस काउन्सिलका पदाधिकारीहरुको प्रसंशा गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाली मिडियाले परिवर्तनकालागि ठूलो भूमिका निर्वाह गरेपनि विकृति र विसंगति निम्तिनेमा मिडियाको पनि भूमिका रहेको बताउनुभयो । पत्रकारिताको उत्ताउलापन र विकृति रोक्नसके मुलुक सकारात्मक दिशामा जान्छ भन्दै उहाँले त्यसकालागि भूमिका खेल्ने उहाँले आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले संघर्षशील पत्रकारको सम्मानमा पत्रकार स्तम्भ निर्माण गरिएको बताउनुभयो । नेपाली मिडियाको तिव्र विकास भएपनि त्यसैगरी अस्वस्थ प्रतिस्पर्धा भएको बताउँदै उहाँले मिडियाको विकृति अन्त्यकालागि काउन्सिल जिम्मेवारीपूर्वक लागेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारग्राममा पत्रकारको योगदानको महत्वपूर्ण संकेतकोरुपमा स्तम्भ रहने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा अहिलेसम्म ३६ जना पत्रकार विभिन्न बहानामा मारिएको बताउँदै उहाँले छानविन र पीडितलाई क्षतिपूर्तिकालागि सरकारको ध्यानाकर्षण गराउनुभयो । पत्रकारको भौतिक र पेशागत सुरक्षाको सुनिश्चित्ता सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो ।

करिब ६ लाख रुपियाँको लागतमा तयार भएको पत्रकार स्तम्भको आर्टिष्ट राजु पिठाकोटेले निर्माण गरेका हुन् । १२ इन्च उचाई र ९ इन्च ६ फिट चौडाई रहेको स्तम्भको प्रधानमन्त्री प्रचण्डले अनावरण गर्नुभयो । यसअघि सोही स्थानमा बनाइएको स्तम्भको तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले उदघाटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया