प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिले गर्यो निर्वाचन स्थगन गर्न माग


फाइल तस्विरः थरुहट संघर्ष समिति

काठमाडौं, फागुन ११ गते । संयुक्त प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिहरुले संविधान संशोधन प्रस्ताव थाँतीराखेर एकाएक गरेको स्थानीयतहको निर्वाचनको घोषणाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

बुधबार मोर्चाको नामबाट संयुक्त विज्ञप्ती जारी गर्दै आवद्ध समितिहरुले निर्वाचनको घोषणा आफूहरुप्रतिको धोका भएको टिप्पणी गरेका छन् । स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेषाधिकार जस्ता विषयको टुंगो नलाई एकतर्फीरुपमा गरिएको निर्वाचन घोषणा आफूहरुका लागि मान्य नभएको भनाई उहाँहरुको छ ।

मोर्चा सम्बद्ध समितिहरुले निर्वाचन घोषणाको विषयलाई तत्काल स्थगित गरी अनुकुल वातावरण बनाउन माग गरेका छन् । संघीयताको मर्म र भावना विपरित संविधानको धारा ५६ (१) को व्यवस्थालाई समेत कुल्चेर निर्वाचन मिति घोषणा भएको ठहर समितिमा आवद्ध नेताहरुको छ ।

सरकारले आफूहरुको मागको सुनुवाई नगरे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी ती समितिहरुको छ । समितिको तर्फबाट लिम्बुवान संयुक्त संघर्ष समिति, किरात राज्य संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, थरुहट थारुवान संयुक्त संघर्ष समिति, शेर्पा संघर्ष समिति, नेवाः मंका संघर्ष समिति, मगरात संघर्ष समिति, खसान संघर्ष समितिसहित १० वटा समितिले हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया