दोस्रो थारु साहित्यिक भेला कैलालीको पटेला गाउँमा गर्ने तयारी


टीकापुर, फागुन १५ गते । थारु साहित्यिक भेला भाग दुई आगामी चैतको १८ देखि २० सम्म कैलालीको धनगढी उपमहानरपालिका –७ को पटेला गाउँमा हुने भएको छ ।

टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक भेला तयारी बैठकले उक्त निर्णय गरेको हो । भेलामा थारू लोक साहित्य तथा आधुनिक साहित्यको अबस्था बिकास गर्नकालागि अबलम्बन गर्नुपर्ने उपाय पहिचान गर्ने, थारू मानक भाषाबारे सहभागीबिच मतएक्यता बनाउन सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ ।

त्यस्तै, थारूभाषा र साहित्य सम्बन्धमा अन्तरक्रिया गर्ने र थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्दत पु¥याउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको जनाइएको छ ।

साहित्यिक भेलामा नवलपरासीदेखि पश्चिम कंचनपुरसम्मका भाषासमूह मिल्ने दुईसय साहित्यकारलाई सहभागी गराउने लक्ष्य आयोजकको छ । थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षतामा भएको तयारी बैठकमा दाङ्ग, बर्दिया, कैलालीका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसअघि धनगढीको थारु छात्रवासमा चैतको अन्तिम साता कार्यक्रम गर्ने तयारी गरिएको थियो । पटेला गाउँबासीले सौहार्दता देखाइ भोजन र आवासको सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपछि सो कार्यक्रम सोहीगाउँमा गर्ने निर्णय भएको संघका सदस्य तथा थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले बताउनुभयो ।

पहिलो थारु साहित्यिक भेला दाङको घोराहीमा २०७३ बैशाख ३ र ४ गते सम्पन्न भएको थियो । अव थारु साहित्यिक भेला हरेक बर्ष गर्दैजाने लक्ष्य राखिएको संघका अध्यक्ष सर्वहारीले बताउनुभयो ।

सो अवसरमा भोजराज थारु अनमोलको थारु कथासंग्रह उबर खाभर दिनको विमोचन पनि गरिएको थियो । साहित्यकारद्वय सर्वहारी र छविलाल कोपिला तथा कथाकार स्वयम्ले संयुक्तरुपमा संग्रह विमोचन गरेका थिए ।

तपाईको प्रतिक्रिया