गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्ति अत्यन्त निन्दनीयः एमाले


काठमाडौं, फागुन १७ गते । गृहमन्त्री विमलेन्द्र निधीले दिनुभएको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

“सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।”

फागुन २१ देखि शुरुहुन लागेको मेची–महाकाली राष्ट्रिय अभियान विथाल्ने आशयको अभिव्यक्ति गृहमन्त्रीले दिएको भन्दै एमालेले मंगलबार विज्ञप्ती जारी गरी आपत्ति जनाएको हो । “राष्ट्रिय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्न गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ” विज्ञप्तीमा भनिएको   छ ।

उपप्रधान तथा गृहमन्त्री नीधिले सोमबार सिराहामा एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधनमा असहयोग गरे एमालेविरुद्ध भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।

पार्टी सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, “सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची–महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति–सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।”

अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादितरुपमा सञ्चालन गर्ने बताउँदै सचिव भट्टराईले कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने बताउनुभयो । स्थितिलाई भड्काउनेखालका कुनैपनि हर्कत नगर्न पनि एमालेले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया