काठमाडौं, फागुन २४ गते । सप्तरीको राजविराजमा फागुन २३ गते सोमबार भएको दुखद् घटनापछि संयुक्त मधेसी मोर्चासँगै थरुहट तराई पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सरकारले जनताको जिउधनको सुरक्षाको व्यवस्था गर्न र संविधान संशोधन गर्न असफल भएको भन्दै मोर्चा र थरुहटले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । राजविराजमा चारजनाको ज्यान जानेगरी भएको सुरक्षाकर्मीको बल प्रयोगले मधेसी नागरिकलाई आतंकित गर्न खोजेको आरोप मोर्चाले लगाएको छ ।
त्यस्तै, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुकाअनुसार सरकारले शान्ति सुरक्षा कायम गर्न र जनताको जिउधनको सुरक्षा गर्नमा पूर्णतः असफल भएको छ । मंगलबार वर्दियामा बसेको सो दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उहाँले बताउनुभयो ।
संयुक्त मधेसी मोर्चाले घटनाको विरोध गर्दै मंगलबार र बुधबार दुई दिनकालागि मधेस बन्दको आव्हान गरेको छ । त्यसमा थरुहट पार्टीले समेत समर्थन जनाएको छ ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीको घटनाबारे जानकारी लिन भन्दै त्यहाँका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिना र प्रहरी प्रमुख (एसपी) दिवेश लोहनीलाई काठमाडौं बोलाउनुभएको छ । जिल्लाबाट फिर्ता बोलाएको नभइ सोधपुछकालागि काठमाडौं झिकाइएको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ ।
फागुन २१ देखि मेची–महाकाली अभियानमा रहेको एमालेले घटनापछि २६ गतेसम्म तीन दिनका लागि अभियान स्थगित गरेको छ । घटनाप्रति सो दलले दुःख व्यक्त गरेको छ । अभियान र घटनाको विषयमा जानकारी दिन एमालेले मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
संयुक्त मधेसी मोर्चाले घटनाको विरोध गर्दै मंगलबार र बुधबार दुई दिनकालागि मधेस बन्दको आव्हान गरेको छ । त्यसमा थरुहट पार्टीले समेत समर्थन जनाएको छ । थरुहट क्षेत्रमा पनि आन्दोलन चर्काउन सो दलले संयुक्त थरुहट संघर्ष समितिसँग समन्वय भइरहेको अध्यक्ष थारुले बताउनुभयो ।