लक्की चौधरी
काठमाडौं, फागुन २६ गते । सत्तापक्षी दलका नेता र मधेसी मोर्चाका नेताको उक्साहतमा सप्तरीको राजविराजमा अमानवीय घटना घटेको नेकपा (एमाले) को बुझाई छ । घटनाको जिम्मेवार सरकार र मोर्चाका नेताहरुले लिनुपर्ने सो दलको ठहर छ ।
एमालेले विहिबार यहाँ आयोजना गरेको सप्तरी घटनाको जानकारी सभामा पार्टीका अध्यक्षसहितका नेताहरुले धारणा राख्दै त्यस्तो बताएका हुन् । लोकतन्त्रमा कुनै पनि दल नेपाली भू–भागमा जहाँ पनि विना रोकतोक शान्तिपूर्णतवरले राजनीतिक कार्यक्रम गर्न पाउने अधिकार भएपनि एमालेलाई छेक्न खोज्नु संविधान विपरित र आपराधिक नियत देखिएको नेताहरुको भनाई छ ।
अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई छाडातन्त्र र हुल्याहातन्त्र बनाउन कसैलाई छुट नरहेको बताउनुभयो । सत्तापक्षका नेताहरुले योजनाबद्धरुपमा सप्तरी घटना घटाएको आरोप उहाँले लगाउनुभयो । “मेची–महाकाली अभियानमा हामीले जनतालाई हाम्रो कुरा बुझाउन गएका हौं, लडाई लड्न होइन” भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो अभियान शान्तिपूर्ण छ, शान्तिपूर्ण नै रहन्छ ।”
संविधानको संशोधन प्रस्ताव अरुबाट निर्देशित रहेको र देश तथा जनताको हित विपरित रहेकाले त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै अध्यक्ष ओलीले संशोधन प्रस्तावको सम्बन्ध चुनावसँग नरहेकाले त्यसलाई स्वीकार्न नसकिने प्रष्ट पार्नुभयो । निर्वाचनको विकल्प नरहेकाले वातावरण बनाउनमा केन्द्रीत हुन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
“पहिले नेताको हत्या लुकेर गरेको देखेका थियौं, हाम्रो त खुलेआम गर्ने प्रयास भयो” उहाँले भन्नुभयो । सत्तापक्षलाई सुरक्षाप्रति गम्भीर हुन उहाँले आग्रह गर्नुभयो ।
“प्रधानमन्त्रीज्यू चुनाव गराउन नसक्ने भए वैशाख नपर्खनुस्, पदबाट राजिनामा गर्नुस्” भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “सरकार आफ्नै ढिलासुस्तीले निर्वाचन गराउन नसक्ने हो भने निर्वाचन आयोगलाई दोस थोपर्न मिल्दैन ।” राष्ट्रियता, स्वाभिमान, सामाजिक न्याय तथा मुलुकको समृद्धिकानिम्ति एमाले दृढ रहेको बताउँदै उहाँले भन्नुभयो, “त्यसकालागि कसैको टाउको दुख्छ भने दुखोस् ।”
सप्तरी घटनामा ज्यान गुमाउनेप्रति आफू र आफ्नो पार्टी दुःखीत रहेको बताउँदै उहाँले सुरक्षाकर्मीको सुरक्षाको प्रसंशा गर्नुभयो । “पहिले नेताको हत्या लुकेर गरेको देखेका थियौं, हाम्रो त खुलेआम गर्ने प्रयास भयो” उहाँले भन्नुभयो । सत्तापक्षलाई सुरक्षाप्रति गम्भीर हुन उहाँले आग्रह गर्नुभयो ।
पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सप्तरीमा एमालेका शीर्ष नेताहरुको सामुहिक हत्याको प्रयास भएको आरोप लगाउनुभयो । घटनामा संलग्नहरुको खोजी गरी सरकारले कडा कारवाही गर्नुपर्ने माग गर्दै भट्टराईले त्यसो नगरिए एमाले आफै कारवाही गर्न बाध्य हुने चेतावनी दिनुभयो । मधेसमा एमालेको कार्यालय, नेता तथा कार्यकर्ताको घरमा तोडफोड गरिरहेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।
“एमालेको कार्यालय, भवन, र झण्डा जलाउन सकिन्छ तर एमालेको विचार र सिद्धान्त जलाउन सकिदैन” भन्दै उहाँले मोर्चा आवद्ध कार्यकर्ताहरुलाई राजनीतिक चरित्र देखाउन आग्रह गर्नुभयो । मधेसी मोर्चा राजनीतिक संगठन हो कि आपराधिक संगठन छुट्याउन गाह्रो भएको उहाँले टिप्पणी गर्नुभयो ।
राजविराजमा विदेशी गुण्डासमेत ओसारिएको टिप्पणी गर्दै उहाँले घटना घटाउन विदेशी पैसाको खोलो बगाइएको बताउनुभयो । मोर्चालाई आपराधिक घटना रोक्न उहाँले आग्रह गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नं. २ का प्रमुख सत्यनारायण मण्डलले सप्तरीमा दोस्रो टीकापुर काण्ड गराउने योजनासहित घटना घटाइएको आरोप लगाउनु भयो । राजविराजमा विदेशी गुण्डासमेत ओसारिएको टिप्पणी गर्दै उहाँले घटना घटाउन विदेशी पैसाको खोलो बगाइएको बताउनुभयो । मोर्चालाई आपराधिक घटना रोक्न उहाँले आग्रह गर्नुभयो ।
नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताहरुको निर्देशनमा सप्तरीमा घटना घटाइएको आरोप लगाउनुभयो । तराई मधेसमा एमालेको प्रभाव बढेको देखेर असह्य भएका नेताले अभियानलाई रोक्न घटना घटाएको उहाँले टिप्पणी गर्नु भयो । नेपाली झण्डामा आगो लगाउनेहरु कुनै हालतमा नेपाली नागरिक हुन नसक्ने उहाँले गुनासो गर्नुभयो ।
गत सोमबार फागुन २३ गते सप्तरीको राजविराजमा भएको घटनामा परी चारजनाले ज्यान गुमाएपछि एमालेले तीन दिनकालागि रोकेको अभियान शुक्रबारबाट पुनः हेटौडाबाट शुरुगर्ने भएको छ । घटनाबारे जानकारी गराउन काठमाडौंमा भेलाको आयोजना गरेको बताएको एमालेले ७५ वटै जिल्लामा त्यस्तो सभा गर्ने निर्णय गरेको छ ।
फागुन २१ बाट झापाको काँकडभिट्टाबाट शुरु गरेको अभियानलाई एमालेले चैत ५ गते सुर्खेतमा गएर अन्त्य गर्ने तालिका बनाएको छ । शुक्रबार हुने हुटौडाको भेलामा लाखौं कार्यकर्ता तथा जनताको उपस्थिति गराउने तयारी एमालेको छ ।