अविनाश चौधरी
धनगढी, फागुन २८ गते । नेपाली भूमी कब्जा गर्ने नियतकासाथ भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको गोली हानी हत्या गरेको घटनाका कारण कैलाली, कञ्चनपुरको नाकामा तनाव कायमै रहेको छ ।
घटना विरुद्ध कैलाली, कञ्चनपुरवासीद्वारा नाकामै व्यापक विरोध भएपछि नेपाल–भारत सीमानाका तनावग्रस्त बनेको हो । नेपाली भूमीमा भएको भारतीय हस्तक्षेपको विरुद्धमा नेपाली झण्डा बोकेर युवा तथा सर्वसाधारण सडकमा उत्रिएका छन् । उनीहरुले नाका पुगेर भारत सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सर्वसाधारणको विरोधका कारण बिहानैदेखि कञ्चनपुरको पुनर्वास–८ स्थित आनन्दबजार क्षेत्र र धनगढी नजिकको गौरीफन्टा नाका तनावग्रस्त बनेको छ ।
आक्रोसित युवाहरुले भारतीय नम्वर प्लेटको एक मोटरसाइकलमा आगजनी गर्नुका साथै यहाँको भूमीमा भारतीयले सञ्चालन गरेको पसलमा तोडफोड गरेका छन् । कञ्चनपुरको विभिन्न ठाउँबाट आनन्दबजार नाका पुगेका स्थानीयले भारतीयहरुको घर जलाउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले केहि राउन्ड फायर खोलेको छ ।
आक्रोसित सर्वसाधारणले शुक्रवार नेपाली सुरक्षाकर्मीमाथि हातपात समेत गरेका छन् । आनन्द बजारको भीड नियन्त्रणभन्दा बाहिर गएको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी रुमेन्द्र देउजाले बताउनुभयो । उहाँले थप अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सतर्कता बढाएको जानकारी दिनु भयो । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले शनिबार सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
आनन्दबजार नजिक पुनर्वास नगरपालिकाले कल्भर्ट बनाएको विवादमा भारतीय सुरक्षाकर्मीले बुधवार गोली चलाएका थियो । गोली लागेर पुनर्वास नगरपालिका–८ का ३० वर्षीय गोविन्द गौतमको ज्यान गएको थियो । केहि नेपाली घाईते भएका थिए ।
भारतीयको ज्यादतिको व्यापक विरोध भएको छ । विरोधसंगै तनाव बढ्दै गएपछि आनन्दबजार तथा गौरीफन्टा नाकामा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आनन्दबजारमा बढी नै तनाव भएकाकारण कैलालीबाट सयभन्दा बढी सुरक्षाकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।
‘आनन्दबजारमा बढी नै तनाव भएकाले यहाँको विभिन्न युनिटबाट सुरक्षाकर्मी पठाएका छौं’, प्रजिअ रिजालले भन्नुभयो । तनाव बढ्दै गएकाकारण नाकामा भारतीय सुरक्षाकर्मी पनि ‘अलर्ट’ अवस्थामा छन् ।
घटनाको विरोधमा उत्रेका सर्वसाधारणले नाका पुगेर भारत सरकार विरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुले गोली हान्ने एसएसबीलाई कारबाही गर्नु पर्ने, भारतीय पक्षको ज्यादति रोकिनु पर्ने लगायतका माग गरेका छन् ।
गौरीफन्टा नाका पुगेका प्रदर्शनकारी सर्वसाधारणलाई रोक्न सुरक्षाकर्मीलाई हम्मे भएको छ । प्रहरीले त्रिनगर भन्सारमा प्रदर्शनकारीलाई रोक्न खोजे पनि उनीहरु मोहना नदी पार गरेर गौरीफन्टा नाका पुग्ने गरेका छन् ।
कल्भर्ट बनाइएको भूमी विवादित रहेको भन्दै एसएसबीले यसअघि नै अवरोध जनाएको थियो । त्यसपछि दुवै देशका स्थानीय सुरक्षा अधिकारीहरुबीच भएको सहमतिका आधारमा कल्भर्ट बनाइएको थियो ।
तर, सहमति लट्याउँदै हातहतियार सहित नेपाल प्रवेश गरेका एसएसबीले आनन्द बजारका स्थानीयलाई कुटपिट गर्नुका साथै लुटपाट गरेको थियो । त्यसको भोलिपल्ट बिहीवार एसएसबी सहित आएका भारतीय नागरिकले कल्भर्ट भत्काउन खोजेपछि नेपालीले प्रतिकार गर्दा झडप भएको थियो । विवादले उग्र रुप लिएपछि नेपाली भूमीमै प्रवेश गरेर एसएसबीले गोली चलाएको थियो ।
कञ्चनपुर घटना तथा भारतीय हस्तक्षेपको विरोध गर्दै शुक्रवार प्रदेश नम्बर ७ मा बन्दको आह्वान गरिएको थियो । घटनाको विरोध सुदूरपश्चिम ठप्प भएको थियो । घटनाको चौतर्फी विरोधका क्रममा कञ्चनपुरको बेलौरी बजारमा विद्यार्थी, कैलालीको सुखड बजारमा सर्वसाधारणद्वारा प्रदर्शन गरिएको छ ।
कञ्चनपुर घटनाकाकारण तनाव बढ्दै गएपछि दुई देशका स्थानीय सुरक्षा अधिकारीबीचको संयुक्त सुरक्षा बैठक शुक्रवार गौरीफन्टामा भएको थियो । दुई पक्षीय बैठकले स्थिति बिग्रिन नदिनका लागि दुवैतर्फबाट संयमता अपनाउने, शान्ति सुरक्षाको अवस्था बिग्रिन नदिने सहमति भएको छ । बैठकमा नेपालबाट कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र भारतबाट लखिमपुर खिरी प्रमुख डीएम आकाश दिपले नेतृत्व गर्नु भएको थियो ।