राम दहित
टीकापुर, चैत २ गते । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले टीकापुर घटनाको न्यायिक जाँच हुनुपर्ने बताउनु भएको छ ।
एमालेको मेची–महाकाली अभियान अन्र्तगत कैलालीको टीकापुरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाले टीकापुर घटनाको न्यायिक छानबिन गर्न नसक्ने, न्याय, समुन्नत विकास र राज्यलाई उन्मुक्ति दिन नसक्ने सरकारकले राजिनामा दिनुपर्ने बताउनु भयो ।
खनालले सप्तरी घटनाको मुख्य जिम्मेबारी मधेशी मोर्चा रहेको बताउदै मधेशी मोर्चाले आन्दोलन गर्दैमा संविधान सशोधन हुननसक्ने बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानिय निकायको निवार्चन लगायत तीनै तहको निर्वाचन २०७४ माघ ७ भित्र गरिसक्नु पर्ने बताउनुभयो ।
प्रदेश नं ७ प्राकृतिक स्रोतसाधनले भरिपुर्ण भएकोले यो क्षेत्रको स्रोतसाधनको सदुपयोग गरी विकास गर्न सकिने बताउनुभयो । एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भीम रावलले एमाले छिटोभन्दा छिटो चुनाव गरेर देशलाई शान्ति र स्थायीत्व दिन चाहेको बताउनुभयो ।
उहाँले सबै समुदाय, वर्ग नेपाली भएकोले सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्नुभयो । टीकापुर घटनाका जिम्मेवार टीकापुर आएर सद्भाव बिगार्नेखालका भाषण गर्ने मधेसी नेताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले अवको दिनमा यस ठाउँमा टीकापुर घटना दोहरिन नदिने बताउनु भयो ।
एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दीर्घ सोडारीले स्वागत गर्नुभएको थियो । दलित मुक्ति समाजका केन्द्रिय महासचिव गणेश विकले मन्तव्यले पनि धारणा राख्नुभयो ।
राजनीतिक अभियान मार्फत निर्वाचनको माहोल बनाउने र संविधान कार्यान्वयनबाट राष्ट्रिय समृद्धि र एकता कायम गर्ने लक्ष्यकासाथ फागुन २१ देखि पूर्वी नेपालको झापाबाट शुरु भएको एमालेको अभियान सप्तरीमा मधेशी मोर्चाले विथोल्न खोजेपछि तीन दिन स्थगित भएको थियो । चैत ३ गते धनगढी र चैत ४ गते महेन्द्रनगरमा सभापछि मेची–महाकाली अभियान समापन हुने एमालेले बताएको छ ।