दुष्यन्त चौधरी
बारा, चैत ८ गते । नयाँ सदस्यता सम्बन्धको विवादले थिलथिलो भएको नेपाल पत्रकार महासंघ बारा शाखाको विवाद काठ काण्डसम्म पुगेको छ । सदस्यता विवादको विषय सल्टिने भएपछि महासंघ बाराले चैत १९ गतेका लागि शाखाको अधिवेशन तय गरेको छ ।
कांग्रेस निकट प्रेस युनियन नेपाल बाराले आफ्नो हार हुने देखेर सदस्यता विवाद कायम गर्दैआएको थियो । सदस्यताको विवाद देखाएर युनियनले बारा शाखाको भवनमा तालाबन्दी गर्दैआएको थियो । सो ताला अहिले खुलेको छ ।
पत्रकार महासंघका अध्यक्ष कमलकुमार उपाध्यायले मंगलबार एक विज्ञप्तिमार्फ अधिवेशनको मिति तय भएको जानकारी गराएका छन् । महासंघ बारामा केही महिनादेखि प्रेस युनियनले तालाबन्दी गर्दैआएको थियो ।
प्रेस युनियनले महासंघमा तालाबन्दी गर्नुको मुख्य उद्देश्य सदस्यता बाँडफाँडको विषय बनाएको थियो । सदस्यतामा कुरा मिल्ने भएपछि अधिवेशन हुन लागेको हो ।
सहमतिमा यसवर्ष महासंघमा १४ वटा नयाँ सदस्यता थपिने भएका छन् । महासंघका अध्यक्ष उपाध्यायले १४ जनाको सिफारिसपत्र तथा नियुक्तिपत्र माग गरेको बताउनुभयो । तर यूनियनले अहिलेसम्म पत्रकारको नियुक्तीपत्र दिन सकेको छैन ।
जिल्ला वन पैदावार आपुर्ति समितिले नेपाल पत्रकार महासंघ बाराको नाममा छुट पुर्जी दिएको काठ कलैया लैजादैगर्दा पक्राउ गराइएको छ । प्रेस युनियनका केही पत्रकारले अवैध काठ हो भनी प्रहरीलाई सुराकी गरेपछि सो काठ पक्राउ गरिएको थियो ।
पत्रकार महासंघ बाराको भवन बनाउनको लागि जिल्ला वन कार्यालयबाट निकासा गराई कलैया लैजादै गरेको काठसहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिई जिल्ला वन कार्यालय बारामा बुझाएको थियो ।
महासंघका अध्यक्ष उपाध्यायकाअनुसार महासंघका कार्यसमितिले बैठक बसी गत कार्तिक १६ गतेका दिन जिल्ला वन कार्यालयबाट फर्निचर बनाउनको लागि काठ खरिद गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सो काठ उपलब्ध भएको उहाँको भनाई छ ।
जिल्ला वन कार्यालय बाराका वन अधिकृत भैरवप्रसाद घिमिरेले पत्रकार महासंघलाई दिएको काठ अबैध नरहेको बताउनुभएको छ । प्रहरीलाई कसैले गलत सूचना दिएकै अधारमा काठ नियन्त्रणमा लिनु गलत भएको उहाँले बताउनुभयो ।
प्रहरीले नियन्त्रणमा लिनु अगाडि काठका सम्पूर्ण कागजातहरू सहि भए नभएको आधारमा मात्र पक्राउ गर्नु पर्ने जिकिर उहाँले गर्नुभयो । महासंघका लागि पठाइएको काठ अवैध नरहेको वन कर्यालयले पुष्टि गरेको छ । जिल्ला वनले अवैध नरहेको भनेपछि सो काठ अहिले महासंघको भवन अगाडि ल्याएर राखिएको छ ।