काठमाडौं, चैत ९ गते । राष्टिय पार्टीको मान्यता पाउन अब समानुपातिक तर्फ ३ प्रतिशत र एक सिट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान राख्न थालिएको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ ।
अब समानुपातिक सांसद पाउन कुनैपनि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ । तर, त्यतिले मात्र राष्ट्रिय पार्टी हुने छैन ।
थ्रेस होल्ड पार गर्नुका साथै प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको उपसमितिका सदस्य एमाले सांसद रामेश्वर फुयालले जानकारी दिनुभयो ।
यदि कुनै दलले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पार गर्नेगरी मत ल्यायो । तर, प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुनेछैन ।
निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ देखि ५ प्रतिशत थ्रेस होल्ड प्रस्ताव गरेको थियो । तर, साना दलहरुको विरोधकाकारण निर्वाचन सम्वन्धी अन्य विधेयक पास भएपनि यो राज्य व्यवस्थामा धेरै दिन अड्किएको थियो ।
कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले बुधबार गरेको यो निर्णयमा उपसमितिका दुई सदस्यले असहमति जनाएका छन् । थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका सांसद अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।
मालेका सांसद नेम्वाङले भने, ‘बहुमतका नाममा जबरजस्ती यो प्रस्ताव अघि बढाइएको छ । पूर्ण समितिमा हामी यसको विरोध गर्छौं ।’ यो प्रस्ताव कांग्रेस र एमाले मिलेर ल्याएको र मुख्यत यसको एमालेले अगुवाई गरेको उनको आरोप छ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ देखि ५ प्रतिशत थ्रेस होल्ड प्रस्ताव गरेको थियो । तर, साना दलहरुको विरोधकाकारण निर्वाचन सम्वन्धी अन्य विधेयक पास भएपनि यो राज्य व्यवस्थामा धेरै दिन अड्किएको थियो ।
राज्य व्यवस्थाको पूर्ण समितिले पास गरेर व्यवस्थापिका संसदमा पठाउनुपर्छ । संसदले पास गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कार्यान्वयनमा जानेछ ।