काठमाडौं, चैत ११ गते । नेकपा (एमाले) ले स्वर्गीय सांसद दुलारी देवीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार पार्थीव शरीरलाई दुई घण्टा राखेर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेको हो ।
सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्वर्गीय देवीप्रति एमालेका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । दलित समुदायमा जन्मेर तराई–मधेसको हकहितका लागि स्वर्गीय देवीले खेल्नुभएको भूमिकाको स्मरण गर्दै अध्यक्ष ओलीले जनताका सच्चा प्रतिनिधि गुमाएको स्मरण गर्नुभयो ।
शुक्रबार साँझ परम्पराअनुसार उहाँको अन्तिम संष्कार गरिएको एमाले सर्लाही इन्चार्ज कमला महतोले जानकारी दिनुभयो ।
स्वर्गीय देवीप्रति श्रद्धाञ्जलि व्यक्त गरेपछि उहाँको पार्थीव शरीरलाई पार्टीले आफन्तको जिम्मा लगाएको छ । परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि उहाँलाई शुक्रबार नै गृहजिल्ला सर्लाहीको ब्रम्हपुरी लग्नुभएको छ । शुक्रबार साँझ परम्पराअनुसार उहाँको अन्तिम संष्कार गरिएको एमाले सर्लाही इन्चार्ज कमला महतोले जानकारी दिनुभयो ।
सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । गम्भीर घाइते देवीको काठमाडौंस्थित वि.एण्ड वी. अस्पतालमा उपचार गरिरहँदा विहिबार राती निधन भएको थियो ।