थारु भाषाका तीन कृतिको लोकार्पण पटेला कार्यक्रममा गरिने


सोम डेमनडौरा थारु
नेपालगञ्ज, चैत १४ गते । चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने पटेला गाउँमा हुन गइरहेको थारु साहित्यिक मेला—२ मा जंग्रार साहित्यिक बखेरीद्वारा प्रकाशन गरिएका तीनवटा थारुभाषाका पुस्तक बिमोचन हुने भएको छ ।

युवा गजलकार ठाकुर अकेलाद्वारा लिखित बौंनी गजलसंग्रह, शेखर दहितद्वारा लिखित गयर्वा बुडु र २१ जना स्रष्टाहरुको संयुक्त मुक्तकसंग्रह बिमोचन हुने भएको हो । पुस्तहरुको सम्पादन साहित्यकार कृष्णराज सर्बहारी र सोम डेमनडौराले गरेका हुन् ।

बौंनी गजलसंग्रहमा थारु समुदायको पहिचान र अधिकार सम्बन्धि गजल समाबेश छन् । थारु समुदायमा राजनीतिक पहुँचप्रतिको आवश्यकताका बारेमा गजलकारले सरल शैलीमा गजल लेखेका छन् ।

यसैगरि शेखर दहितद्वारा लेखिएको गयर्वा बुडु कथासंग्रहमा थारु समुदायको सामाजिक जनजीवनलाई सरल ढंगले प्रस्तुत गरिएको छ । थारु समुदायको परम्परागत अभ्यास, चालचलन्, शिक्षा तथा प्रेम प्रसंगको उत्कृष्ट उठान संग्रहमा गरिएको छ ।

हल्कोरा संयुक्त मुक्तकसंग्रह बिदेशमा रहेका युवाहरुको पीडाको संगालो छ । उनीहरुले बेरोजगारीको पीडा, बिदेशमा भोगेका दुःख र सामाजिक परिबेशलाई मार्मिक ढंगले मुक्तकमार्फत प्रस्तुत गरेका छन् ।

थारु भाषामा लेखिएका यी तिनै पुस्तककले आधुनिक थारु साहित्यको फरक शैलीलाई अगाडि बढाएका छन् । पुस्तकको बिमोचन भाषाबिद पदम राइ र कथाकार रामलाल जोशीले गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया