भगतराम थारु
नेपालगञ्ज, चैत १६ गते । हेफर नेपालसँगको साझेदारीमा महिला उपकार मञ्च र ओसीडीसी बाँकेले सञ्चालन गरेको परियोजनाले सफलता पाएपछि सञ्चालक महिलाहरु उत्साहित भएका छन् ।
ओसीडीसीले बाँकेको खासकुस्मा र बैजापुर तथा महिला उपकार मञ्चले कचनापुर र महादेवपुरीमा साना किसान उद्यमी सुदृढिकरण परियोजना परियोजना सञ्चालन गर्दै आएका छन् ।
परियोजना अन्तर्गत वैजापुरमा गठित प्रगतिशील महिला समूहकी अध्यक्ष विम्वी चौधरीले कार्यक्रमले गाउँका महिलाहरुलाई एकतावद्ध गराउनुकोसाथै सामाजिक तथा आर्थिकरुपमा सवल बनाएको दावी गर्नुभयो ।
समूहमा नबस्दा घरबाहिरको कुरा थाहा हुने थिएन अहिले त गाउँको मात्रै होईन अन्यत्र जिल्लाको समेत जानकारी पाउन सक्ने भएका छौँ उहाँले भन्नुभयो । यो कार्यक्रमबाट हामीले व्यवसायीक पशुपालन, खेती गर्न सक्यौं आगामी दिनमा अझ राम्रो गर्दै जानेछौँ’ समूहकी उपाध्यक्ष वीरमता थारुले ओसीडीसीले दिएको बाख्रा र घाँसको उपयुक्त व्यवसाय गरी वार्षिक रुपमा एकलाख रुपियाँ आम्दानी गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि यस किसिमको कार्यक्रमको निरन्तरता हुनसके आफूहरुले थप प्रगति गर्ने बताउनुभयो । महादेवपुरीका वुद्धि खत्रीले अहिले ४२ वटा बाख्रा पाल्दै आउनुभएको छ । महिला उपकार मञ्चले सञ्चालन गरेको परियोजना अन्तर्गतको समूहमा आवद्ध भएपछि व्यवसायीकरुपमा बाख्रा पालन गर्न थालेको उहाँले बताउनुभयो ।
समूहकी उपाध्यक्ष वीरमता थारुले ओसीडीसीले दिएको बाख्रा र घाँसको उपयुक्त व्यवसाय गरी वार्षिक रुपमा एकलाख रुपियाँ आम्दानी गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
महादेवपुरीमा बाख्रा पालनसँगै व्यवसायीक रुपमा घाँस खेती र तरकारी खेती समेत किसानले गर्दै आएका छन् । आफूले पालेका बाख्रालाई पुग्ने घाँस खेतवारीको खेर गईरहेको जमिनमा लगाएका छन् । सुरुमा त खेतवारीको आलीमा घाँस लगाउन मान्नु भएन धेरै सम्झाई बुझाई गर्नुपर्यो’ महिला उपकार मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपानेले भन्नुभयो ।
किसानको खेतको छेउछाउमा रोपिएको घाँस र व्यवसायीकरुपमा गरिएको बाख्रा पालन हेरेर पशुसेवा कार्यालय बाँकेको पशु चिकित्सक डा. भिषण गजमेर र जिल्ला कृषि विकास कार्यालयका प्राविधिक रामकृष्ण चौधरी उत्साहित भएका छन् ।
सगरमाथा समूहकी कोषाध्यक्ष हरिकला खड्काले हेफर र महिला उपकार मञ्चले सञ्चालन गरेको साना किसान उद्यमी सुदृढिकरण परियोजनाले आफूहरुलाई अगाडि बढ्ने बाटो देखाएको बताउनुभयो । परियोजना सकिए पनि आफूहरुले कामलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।