महिला स्वतन्त्रताका लागि चिरै भजहर पर्व मनाउदै थारु महिला


प्रेम चौधरी
धनगढी, चैत १७ गते । नेपालको पश्चिमी तराई क्षेत्रमा बसोबास गर्दैआएका थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने भएका छन् । सखी सञ्जाल कैलालीद्वारा विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिदै यो पर्व मनाउन लागेको बताइएको छ ।

यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ । त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान दिने चलन पनि छ

थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताउनु   भयो । अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगैचा (बगिया) मा गएर दिनभर पौराणिक खेल (छुर, कोइलीदिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरी मनाउने गर्दछन् ।

त्यसदिन परिवारका सदस्य भने मिठा–मिठा परिकार बनाई छोरीहरुलाई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारुले बताउनुभयो । यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ । त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान दिने चलन पनि छ ।

कार्यक्रमलाई भव्य बनाउनको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रमुख अतिथि र महिला विकास कार्यालयका प्रमुख पुजा काफ्लेलाई विशिष्ट अतिथि बनाई कार्यक्रम गर्नलागेको सखी सञ्जाल कैलालीले जनाएको छ ।

चिरै भजहर चैत महिनाको शुक्लपक्षको सोमबार वा शुक्रबार मनाउने गरिन्छ । दिनभरिको कार्यक्रमपछि साँझपख नघान काटी (पराल जलाएर आगो नाघ्ने) सामूहिकरुपमा त्यसलाई टेकेर घर आउने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया