आठ बुँदे घोषणा–पत्र जारी गर्दै, थारु साहित्यक मेला सम्पन्न


धनगढी, चैत २१ गते । थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाव दिने लगायत आठबुँदे घोषणा–पत्र जारीगर्दै थारु साहित्यक मेला–२ सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको कार्यक्रममा थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्था बारे अन्तरसंवाद गरिएको  थियो । महिला लेखनको विषयमा लेखिका बालिका चौधरी र गजलकार रबिना चौधरीसँग ईन्दु थारुले अन्तर संवाद गर्नु भएको थियो ।

त्यस्तै, कार्यक्रममा थारु भाषा साहित्य, पत्रकारिता र थारु मानक भाषाका बारेमा समेत छलफल भएको थियो । थारु साहित्यमा पनि महिलाहरुलाई होच्याएर पुरुष स्रष्टाहरुले सिर्जना गरेकामा महिला लेखिकाहरुले गुनासो गर्नुभएको थियो । त्यस्तै, समाचार डेस्कमा थारुहरुको प्रतिनिधित्व नभएकाले तिनका बारे कमै समाचारले स्थान पाएको गुनासो गरिएको थियो ।

साहित्य चिन्तन र थरुहट आन्दोलनका विषयमा अशोक थारु, कृष्ण कुमार चौधरी ‘कुन्दन’, अधिकारकर्मी दिलबहादुर चौधरी युएन प्रतिनिधि फूलमान चौधरी, अधिवक्ता सन्तराम धरकटुवा, कृष्ण सर्वहारी, सुशील चौधरी लगायतले छलफल गर्नुभएको थियो । दशवर्षे जनयुद्धमा सबै भन्दा धेरै थारु समुदायका व्यक्ति मारिए पनि त्यस सम्बन्धी दस्तावेजीकरणको अभाव रहेको बैठकमा छलफल गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा साहित्यकार रामलाल जोशी, नविन विभास, दिपक तुलाधर, पदम राई, लगायतको समेत सहभागिता थियो । कार्यक्रममा विभिन्न विधाका ६ वटा पुस्तक समेत विमोचन गरिएको थियो । थारु साहित्यिक मेला तेश्रो श्रृंखला बर्दियाको राजपुरमा गर्ने निर्णय बैठकले गरेको छ ।

थारु साहित्यिक मेला–२, कैलाली घोषणा–पत्र
थारु लेखक संघ, नेपालको आयोजनामा २०७३ चैत १९ र २० गते धनगढी उ.न.पा.–७, पटेला, कैलालीमा भएको थारु साहित्यिक मेला–२ को घोषणापत्र यस्तो रहेको छ ।

१. थारु भाषामा मानकताको लागि हालको आगन्तुक शब्द जस्ताको त्यस्तै प्रयोग गर्ने । अन्य मौलिक शब्द जसरी बोलिन्छ त्यसरी लेख्ने ।
२. थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाव दिने ।
३. थारु साहित्यकारको क्षमताको विकासको लागि काम गर्ने ।
४. थारु साहित्यको अध्ययन अनुसन्धान प्रकाशनको लागि राज्यको निकायलाई दबाव दिने ।
५. थरुहट क्षेत्रको सार्वजनिक सूचना, वडापत्र थारु भाषामै लेखाउन दबाव दिने ।
६. नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सरकारी निकायमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि दबाव दिने ।
७. थारु साहित्यिक मेला तेश्रो श्रृंखला (२०७४), जंग्रार साहित्यिक बखेरीको सहकार्यमा बर्दियामा गर्ने ।
८. थारु साहित्यिक मेला–२ आयोजनामा सहयोग पु¥याउने पटेला गाउँबासी लगायत सबै सहयोगी शुभेच्छुकहरुलाई हार्दिक आभार व्यक्त गरियो ।

तपाईको प्रतिक्रिया