शुक्रबारदेखि नेपालगञ्जमा साहित्यिक क्षेत्रीय वाङ्मय कार्यक्रम हुँदै


नेपालगञ्ज, चैत २४ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले हिरक जयन्तीको अवसरमा शुक्रबार र शनिबार दुई दिन नेपालगञ्जमा साहित्यिक क्षेत्रीय वाङ्मय कार्यक्रम शुरु गर्दैछ । यस क्षेत्रको भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि कार्यक्रम गर्न लागिएको प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीकाअनुसार प्रज्ञा प्रतिष्ठान स्थापना भएको ६० वर्ष पुग्नलाग्दा हिरक जयन्ती मनाउन शुरु गरिएको हो । यसअघि फागुन १९ र २० गते विराटनगरमा यसै अनुसारको क्षेत्रीय कार्यक्रम सम्पन्न भइसकेको डा. गिरीले जानकारी दिनु भयो ।

२०१४ असार ९ गते स्थापना भएको प्रतिष्ठानले आगामी वैशाख ६ देखि ८ सम्म काठमाडौंमा राष्ट्रिय बाङमय कार्यक्रमको आयोजना गर्न गइरहेको काव्य विभाग प्रमुख डा. गिरीले जानकारी दिनुभयो । नेपालगञ्जमा दुई दिनसम्म चल्ने क्षेत्रीय कार्यक्रममा करिब १० जना विज्ञको विभिन्न विधाका कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानले बताएको छ ।

नेपालगञ्जमा दुई दिनसम्म चल्ने क्षेत्रीय कार्यक्रममा करिब १० जना विज्ञको विभिन्न विधाका कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानले बताएको छ ।

कार्यक्रममा मध्येपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका जिल्लाबाट करिब दुईसय साहित्यकार तथा लेखकहरुको सहभागीता रहने कार्यक्रमको स्थानीय संयोजक हरि तिमिल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न विधाका कार्यपत्र प्रस्तुत हुने र त्यसमा केन्द्रीत भएर छलफल हुने तिमिल्सिनाले बताउनुभयो ।

काव्य विभाग प्रमुख डा. गिरीकाअनुसार हिरक जयन्ती आगामी असार ९ गते सम्पन्न हुनेछ । सो अघि प्रतिष्ठानले विभिन्न जाती समुदायका शब्दकोष, व्याकरण, लोकसाहित्यका पुस्तकहरु प्रकाशन गर्ने तयारी गरेको छ । त्यस्तै, प्रतिष्ठानले सो अवसरमा विभिन्न वरिष्ठ लेखकहरुको विचारमूलक लेख संकलन गरेर प्रतिष्ठानको स्थापनाको अवसरमा पुस्तक प्रकाशनको तयारी गरेको पनि डा. गिरीले जानकारी दिनुभयो ।

क्षेत्रीय साहित्यिक कार्यक्रमले यहाँको भाषा, संस्कृतिको विकास सँगसँगै साहित्यको श्रीबृद्धिमा समेत भूमिका निर्वाह गर्ने विश्वास प्रतिष्ठानले गरेको छ । कार्यक्रममा थारु भाषा साहित्यको विषयमा साहित्यकार लक्की चौधरीले कार्यपत्र प्रस्तुत गर्ने र सो विषयमा छलफल गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।

तपाईको प्रतिक्रिया