अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन


लक्की चौधरी
काठमाडौं, वैशाख २ गते । अरु दललाई स्थानीय तहको निर्वाचनकालागि उम्मेदवार छनौट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौति छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताहरुको बुझाई छ ।

एमाले काठमाडौंमा करिब सातवर्ष देखि जिल्ला अधिवेशन हुन सकेको छैन । कामचलाउ कार्य समिति गठन गरेर पार्टीको आन्तरिक काम भएपनि काम गर्न निकै कठिन भएको बुझाई नेताहरुको छ । अरु जिल्लाको तुलनामा काठमाडौं जिल्लाको बढी जिम्मेवार रहेपनि आन्तरिक विवादले समस्या झन बढ्दै गएको बुझाई एमाले पङ्तिको छ ।

स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित अन्य उम्मेदवारको टुंगो लगाउने बेलामा पार्टी आन्तरिक झमेलामा फसेपछि उम्मेदवार टुंगो लगाउने विषय पनि ओझेलमा परेको बताउनुहुन्छ पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । यो झमेला कायमै रहे अब आउने निर्वाचनमा त्यसको नकारात्मक असर पर्छ उहाँले भन्नुभयो ।

चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौंको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको थियो ।

गत चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौंको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन गरेको थियो । सो कमिटीमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य हुनुहुन्छ ।

कमिटीले आन्तरिक विवाद सल्टाउनेगरी छलफल शुरु गरेपनि अहिलेसम्म टुंगो लाग्ने मेसो मिल्न नसकेको उपाध्यक्ष शाक्यले जानकारी दिनुभयो । “जिल्लामा प्रमुख दुई गुटको आन्तरिक समस्याले विवाद बढेको हो, नेताहरुको सिधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो छ” उहाँले भन्नुभयो । गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

गुटगत समस्या देशैभर भएपनि काठमाडौंमा सबैभन्दा वढी रहेको बताउँदै उपाध्यक्ष शाक्यले भन्नुभयो, “शीर्ष नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष छायाँमा समस्या समाधान गर्न कठिन भइरहेको छ, यस्तै भइरहेमा अवको निर्वाचनमा यसको सिधै असर पर्नेवाला छ ।” अरु दललाई चुनावको चटारो छ, एमालेलाई आन्तरिक समस्या समाधानकै चटारो छ भन्दै उपाध्यक्ष शाक्यले समस्या सल्टाएर मात्र निर्वाचनमा जाने तयारी पार्टीको रहेको बताउनुभयो । तर समस्या कसरी सल्टाउने टुंगो लागि नसकेको उहाँको भनाई छ ।

समस्या समाधान गर्नेगरी उपाध्यक्ष गौतमकको संयोजकत्वमा कमिटी गठन भएपछि सो कमिटीले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै वार्ता र छलफल गरिररहेको अर्का उपाध्यक्ष अष्टलमक्ष्मी शाक्यले बताउनु  भयो ।

जिल्लाको अधिवेशन हुन नसकेपछि कृष्णकुमार राईको संयोजकत्वमा काठमाडौं जिल्ला कमिटी गठन गरेर काम चलाउने काम एमालेले गरेको छ । वसन्त मानन्धर सहसंयोजक, विद्यासुन्दर शाक्य सचिव रहेको कमिटी रहे पनि सो कमिटीले नेताहरुको हस्तक्षेपका कारण जिम्मेवारी वहन गर्न सकिरहेको छैन ।

समस्या समाधान गर्नेगरी उपाध्यक्ष गौतमकको संयोजकत्वमा कमिटी गठन भएपछि सो कमिटीले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै वार्ता र छलफल गरिररहेको अर्का उपाध्यक्ष अष्टलमक्ष्मी शाक्यले बताउनु  भयो । दुई चार दिनमा अव विवाद सल्टाउनेगरी छलफल भइरहेको उहाँको भनाई छ ।

२०६५ पुस २५ र २६ गते भएको जिल्ला अधिवेशनले निर्मल कुइँकेललाई अध्यक्षमा निर्वाचित गरेको थियो । तर अध्यक्ष कुइँकेल पशुपति विकास कोषको रकममा भ्रष्टाचार गरेको मुद्दामा मुछिएपछि २०७० मा पदबाट राजीनामा दिनुभएको थियो । सो पछि उपाध्यक्ष रहनुभएका कृष्ण राईलाई कार्यवाहक अध्यक्ष बनाएर काठमाडौं कमिटीको कामकाज हुँदैआएको छ ।

विधानअनुसार प्रत्येक ३ वर्षमा जिल्लाको अधिवेशन गर्ने व्यवस्था भएपनि लामो समय भइसक्दासमेत एमाले काठमाडौंको अधिवेशन हुन सकेको छैन । स्थानीय तहको निर्वाचन अघि जिल्ला अधिवेशन गर्ने वातावरण नभएपनि समस्या सल्टाएर जाने कसरतमा एमालेका शीर्ष नेताहरु लाग्नुभएको छ ।

केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठकाअनुसार काठमाडौं जिल्लामा दुई पक्षीय गुटको समस्या रहे पनि प्रमुख नेताहरुकै पहलमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । शीर्ष नेताहरुकै कारण समस्या बल्झेको हो, समाधान पनि उहाँहरु मिलेर गर्नु हुन्छ नेता श्रेष्ठले भन्नुभयो ।

तपाईको प्रतिक्रिया