काठमाडौं, बैशाख ८ गते । हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धकोरुपमा रहेको हरवा चरवाको ऋण मिनाको माग गरेको छ ।
सो संस्थाले पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो । सरकारको प्रस्तावित बजेट हरवा चरवाको पक्षमा खर्च गर्न समेत संघ संस्थाका पदाधिकारीले माग गरेका छन् ।
मञ्चका अध्यक्ष दशन मण्डलले हरवा चरवाहरुको ऋण तत्काल सरकारले मिनाहा गर्नुपर्ने बताउनुभयो । हरवा चरवाहरुको तथ्यांक संकलन समेत प्रारम्भ गर्न उहाँले माँग गर्नुभयो । प्रस्तावित बाँधा श्रमसम्बन्धि विद्येयकको प्रक्रिया पनि अगाडि बढाईयोस उहाँले माग गर्नुभयो ।
अध्यक्ष मण्डलले काम गरेको ज्याला पनि ऋणको ब्याजवापत् कटौति हुने भएकोले पुस्तौं पुस्तासम्म ऋणीकै रुपमा रहनुपर्ने बाध्यता रहेको तर्क गर्नुभयो । बिरामी पर्दा काम गर्न नसक्दा हर्जाना तिर्नुपरेको दुखेसो पनि उहाँले पोख्नुभयो ।
कमैया, हलिया र कम्लहरीको सवालमा पनि मुक्त बाँधा श्रमीक र मुक्त घोषणा हुन बाँकी श्रमीकका लागि एकघर एक रोजगारको व्यवस्था गर्न प्रतिनिधिहरुले माग गर्नुभया । रासलाल रामले छुट भएका कमैया र हलियाहरुको तथ्यांक संकलन गर्न माँग गर्नुभयो । मुक्त कमैया, हलिया र हरवा चरवा बसोबास गरेको स्थानमा पूनःस्थापना गर्न सरकारसँग माग गर्नुभयो ।
अधिवक्ता महगु चौधरीले मुक्त कमलहरीहरुलाई प्रदान गरिएको छात्रवृत्ति रकममा वृद्धि गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा गितादेवी सदाय र सुर्यनारायण रामले पनि धारणा राख्नुभयो ।