काठमाडौं चुनदेवीमा चितुवा आतंक, स्थानीय बने त्रसित


काठमाडौं, वैशाख १२ गते । चन्द्रागिरी –१२ स्थित चुनदेवीचोक माथि चुनदेवी सामुदायिक वनबाट आएको चितुवाले दुई दिनदेखि वस्तीमा आतङ्क मच्चाएपछि स्थानीय त्रसित बनेका छन् ।

चितुवाले घरमा बाँधेका जनावरमाथि आक्रमण गर्नथालेपछि स्थानीयहरु दुई दिनदेखि राती जाग्राम बस्दैआएका छन् । स्थानीय मञ्जु सापकोटाको घरमा बाँधेको कुकुरलाई मारेर गहुँबारीमा मान्छेको अगाडि नै चितुवाले खाएपछि स्थानीय झन त्रसित बनेका हुन् । चितुवालाई धपाउन राती स्थानीयहरु राँको बालेर सामुहिक जाग्राम शुरुगरेको स्थानीय सापकोटाले भन्नुभयो । ‘बाघ धपाउन जाँदा उल्टै ठूलठूला आँखा देखाएर बाघले तर्साउन खोज्यो’ सापकोटाले भन्नभयो ।

स्थानीय मञ्जु सापकोटाको घरमा बाँधेको कुकुरलाई मारेर गहुँबारीमा मान्छेको अगाडि नै चितुवाले खाएपछि स्थानीय झन त्रसित बनेका हुन् ।

स्थानीय बन्दना थापाले राती करिब नौ बजेतिर मान्छेको आवाज सुनेपछि बाघ झन गर्जेर मान्छेलाई डराउने प्रयास गरेको बताउनुभयो । साँझ सातबजे नै वस्तीमा बाघ प्रवेश गरेर आतंक मच्चाएको उहाँले बताउनुभयो । स्थानीय प्रहरी प्रशासनमा बाघ प्रवेश गरेको भन्दै स्थानीयले सुरक्षाकर्मीसँग सुरक्षा माग गरेका   छन् । तर दुई दिन भइसक्दासमेत सुरक्षाकर्मी वस्तीमा सुरक्षा दिन नआएको गुनासो स्थानीयको छ ।

 स्थानीय राजेश कुँवरकाअनुसार आइतबार र सोमबार दुई दिन उहाँको बाख्राको खोरमा चितुवाले आक्रमण गरेको छ । बाख्रा तान्ने प्रयास गरेपनि बाख्रा भने लग्न नपाएको कुँवरले बताउनुभयो । बस्तीमै बाघ आएर आक्रमण गर्न थालेपछि रातभरी स्थानीयले गस्ती थालेको उहाँले बताउनुभयो ।
यता, महानगरीय पहरी प्रभाग बलम्बुको प्रहरी निरिक्षक भोजराज पाण्डेले सोमबार रातीदेखि चितुवालाई धपाउन प्रहरी सहायक निरिक्षक (सई) को कमाण्डमा सुरक्षाकर्मी खटाइसकिएको बताउनुभयो । वस्तीमा बाघले आतंक मच्चाए पनि सुरक्षाकर्मीले धपाउन बाहेक अरु केही गर्न नसक्ने उहाँले बताउनुभयो । “बाघलाई मार्न मिलेन, समात्न पनि अनुमति लिनुपर्छ, हवाइ फायर गरेर धपाउने प्रयास गरेका छौं” पाण्डेले भन्नुभयो ।

सोमबार साँझ उज्यालो छँदै सात बजेतिर चितुवा वस्तीमा प्रवेश गरेको स्थानीय पीडित मञ्जु सापकोटाले बताउनुभयो । मान्छेले होहल्ला गर्दासमेत झाडीमा लुकेर बस्ने चितुवाको आतंक रोक्न स्थानीय प्रशासनले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्म मानवीय क्षति केही नगरे पनि प्रशासनले लापरवाही गर्ने हो भने कुनैपनिबेला चितुवाले मान्छेमाथि आक्रमण गर्नसक्छ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया