धनगढी, वैशाख १२ गते । नेकपा (एमाले) ले ७ नम्बर प्रदेश संगठनले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष भीम रावलको अध्यक्षतामा शनिवारदेखि बसेको बैठकले सम्भावित प्रदेश राजधानी धनगढी उपमहानगरपालिकाको भने टुंगो लगाउन सकेको छैन ।
त्यस्तै लम्कीचुहा र गोदावरी नगरपालिकाका उम्मेदवार पनि थप छलफलका लागि भन्दै रोकिएको छ । यसअघि जिल्ला कार्य समितिले पठाएको सूचिमा धनगढी उपमहानगरपालिकाबाट मेयरकालागि कलावती जोशी, दुर्गाप्रसाद जोशी, यज्ञराज बास्तोला रहेका छन भने उपमेयरमा सुशीला बुढाथोकी, रुक्मणी देवकोटा र छायाँ थापाको नाम चर्चामा छ ।
जोशीपुर गाउँपालिकाबाट प्रेमलाल चौधरी प्रमुख र गोमा आचार्य उपप्रमुख, कैलारी गाउँपालिकाबाट रामप्रसाद चौधरी प्रमुख र झुमादेवी चौधरी उपप्रमुख, जानकी गाउँपालिकाबाट जगत चौधरी प्रमुख र गङ्गा थापा उपप्रमुख उम्मेदवार बनेका छन् ।
त्यस्तै अर्को टुंगो लाग्न बाँकी गोदावरी नगरपालिकामा समेत एमालेले ३ जना प्रमुख र २ जना उपप्रमुखको नाम प्रदेश कमिटिमा पठाएको थियो । जसमा प्रमुखमा कृष्णराज सुवेदी, भीम बोगटी र लोकेन्द्र बहादुर शाही र उपप्रमुखमा रत्ना कठायत र साबित्री घिमिरे रहेका छन् ।
बैठकले कैलालीको टीकापुरमा तपेन्द्र रावललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ भने उपमेयरमा कमला केसी छानिएकी छन् । त्यस्तै भजनी नगरपालिकामा प्रदीप मल्ल मेयर र मधुमति चौधरी उपमेयर छानिएका छन् । मल्ल १ वर्ष अघिदेखि शिक्षण पेशा त्यागेर राजनीतिमा लागेका हुन ।
एमालेले गौरीगंगा नगरपालिकामा भीम देउवालाई मेयर र अंचला चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ । घोडाघोडी नगरपालिकामा अमर साउँद मेयर र लक्ष्मी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
गाउँपालिकामा पनि टुंगियो
छ वटा गाउँपालिका रहेको कैलालीमा एमालेले प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । मोहन्याल गाउँपालिकामा नवलसिंह रावल प्रमुख र पूजा बुढा उपप्रमुख, बर्दगगोरिया गाउँपालिकाबाट कर्णबहादुर कुँवर प्रमुख र साबित्रादेबी सापकोटा उपप्रमुखमा चुनिएका छन् भने चुरे गाउँपालिकाबाट धनबहादुर रोक्कामगर प्रमुख र दिपादेवी साउद उपप्रमुखका उम्मेदवार रहेका छन् ।
त्यस्तै, जोशीपुर गाउँपालिकाबाट प्रेमलाल चौधरी प्रमुख र गोमा आचार्य उपप्रमुख, कैलारी गाउँपालिकाबाट रामप्रसाद चौधरी प्रमुख र झुमादेवी चौधरी उपप्रमुख, जानकी गाउँपालिकाबाट जगत चौधरी प्रमुख र गङ्गा थापा उपप्रमुख उम्मेदवार बनेका छन् ।
एमाले जिल्ला कमिटी कैलालीले यसअघि नै कैलालीका १ सय २६ मध्ये १ सय २३ वडाबाट वडा अध्यक्ष र अधिकांश सदस्यहरु छानीसकेको छ ।
कञ्चनपुर र बाजुरामा को–को?
त्यस्तै एमाले सात नम्बर प्रदेशले कञ्चनपुरको भिमदत्त नगरपालिकामा पार्टी जिल्ला सचिव सुरेन्द्र बिष्ट, बेदकोट नगरपालिकामा अशोक चन्द र बेलौरी नगरपालिकामा पल्लव भट्टलाई उम्मेदवार बनाएको छ ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाट रामबहादुर बानियाँलाई मेयर र मायादेवी कुँवरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य स्थानबाटसमेत एमालेले छिट्टै उम्मेदवारहरु टुंगो लगाउने बताएको छ ।