‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’


कुलदिप चौधरी
झुम्का, वैशाख १३ गते । सुनसरी झुम्काका राजनीतिक दलका थारु नेता तथा समाजसेवीहरुले थारु बहुल क्षेत्रमा थारुलाई नै मेयर, गाउँपालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बनाउन माग गरेका छन् ।

थारु समुदायलाई कमसल पदमा उम्मेदवार बनाउनेगरेको गुनासो गर्दै उहाँहरुले नगरपालिकामा उपमेयर, गाउँपालिकामा उपप्रमुख तथा वडाका सदस्य बनाउँदा थारुमाथि अन्याय हुने अगुवाहरुको गुनासो छ । बुहलता तथा जनसंख्याको आधारमा थारुजस्तै अरु समुदायलाई पनि उम्मेदवार बनाउन उहाँहरुको माग छ ।

थारु कल्याणकारिणीसभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीले नयाँ संविधानमा थारु संरक्षित क्षेत्र, विशेष क्षेत्रको व्यवस्था नगरेर थारुमाथि अन्याय गरिएको गुनासो गर्नुभयो । स्थानीय पुनःसंरचना आयोगले समेत सो विषयमा चासो नदिएको भन्दै उहाँले थारुमाथि नियतबस अन्याय गरिएको बताउनुभयो । संशोधन प्रस्तावमा थारुको संरक्षित क्षेत्र, स्वायत्तताको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

नेकपा (एमाले) का नेता शंकरलाल चौधरीले बाहुल्यताको आधारमा थारुलाई सम्मानजनक पद नदिइए थारुमाथि फेरि अर्को अन्याय हुने बताउनुभयो । जुन ठाउँमा जुन जाति समुदायको बाहुल्यता छ, त्यस ठाउँमा त्यही समुदायको उम्मेदवारलाई अवसर दिने प्रणालीको विकास गर्न उहाँले दलका नेताहरुलाई आग्रह गर्नुभयो । सुनसरीमा सो अभ्यास हुन नसकेको भन्दै उहाँले गुनासो गर्नुभयो ।

पत्रकार लक्की चौधरीले थारु पत्रकारहरुको एकता र सहकार्यकालागि थारु पत्रकार संघ गठन गरिएको बताउनुभयो । संघ दर्ता नहुँदासम्म एकअर्कासँग थारु पत्रकार परिचित नभएकाबेला संघ गठनले थारु पत्रकारबीच समन्वय र सहकार्यमा बृद्धि भएको बताउनुभयो । अहिले संघमा देशभर करिब दुईसयको हाराहारीमा पत्रकार आवद्ध रहेको र १ सय ७५ जति नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेको जानकारी दिनुभयो ।

काठमाडौंसहित पश्चिमको कञ्चनपुरदेखि पूर्वको सुनसरी, मोरङसम्म पन्ध्र जिल्लामा थारु पत्रकार संघ गठन भएको छ । उपत्यकासहित २३ जिल्लामा थारुको बाहुल्यता भएपनि अरु जिल्लामा संघको शाखा गठन गर्दैजाने उहाँले बताउनुभयो ।

पत्रकार गवन चौधरीले थारुले सञ्चालन गरेको मिडियामा लगानीको अभाव रहेको भन्दै भएका सञ्चारमाध्यमलाई टिकाउने चुनौति रहेको बताउनुभयो । थारु पत्रकारको एकता र समग्र थारुको एकताले मात्र थारुको हकअधिकार सुनिश्चित हुनसक्ने भन्दै उहाँले सबैलाई त्यसमा चासो राख्न आग्रह गर्नुभयो ।

सुनसरीको भासी, झुम्का, दुहवी, इनरुवा लगायतका ठाउँमा थारुको सघन बसोबास रहेको छ । सुनसरीको कुल जनसंख्या सातलाख ६३ हजार ४८७ रहेको छ भने थारुको जनसंख्या ९१ हजार पाँचसय छ । यो कुल जनसंख्याको ११.९८ प्रतिशत हो ।

थारु पत्रकार संघ नेपाल सुनसरी शाखाका अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा भएको कार्यक्रममा केसीलाल थारु, तेजनारायण चौधरी, धिरेन्द्र चौधरी, एन.एल. चौधरी, तारादेवी चौधरी, आशा चौधरी, सीता चौधरी, सुशीला लेखी, विमला चौधरी, निशान प्रकृति थारु, नविन चौधरी, श्यामकुमारी चौधरी, केसीलाल चौधरी, राजकुमार चौधरी, मनोज चौधरी लगायतले थारुको हकहित र मिडियाको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा पूर्वीया थारुको नयाँ वर्ष शिरुवा पर्वको महत्व र महिमाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

थारु पत्रकारको पदस्थापनः
थारु पत्रकार संघ सुनसरी शाखाका अध्यक्षसहित नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको छ । यसअघि कात्तिक ६ गते गठन भएको संघका पदाधिकारीसहित सदस्यहरुको पदस्थापनको काम बाँकी थियो । संघका केन्द्रीय सल्लाहकार लक्की चौधरीले कार्य समितिका सदस्य सबैलाई प्रमाणपत्र प्रदान गरेर पदस्थापन गराउनुभयो ।

तपाईको प्रतिक्रिया