काठमाडौं, वैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दापनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालयको दाबी छ ।
राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेको प्रधानमन्त्री कार्यालयको भनाई छ । त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए । प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।
मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका थिए । तर यसअघि सरकारका मन्त्रीको बरियातामा मन्त्री निधी असन्तुष्टि जनाउँदै आएका थिए ।
प्रधानमन्त्रीपछि दोस्रो परियातामा आफू हुनुपर्ने माग उहाँको थियो । तर प्रधानमन्त्री प्रचण्डले दोस्रो वरियाता दिनेभन्दै कमल थापालाई उपप्रधानमन्त्रीमा भित्र्याएका थिए ।