सरकारका कारण दोस्रोचरणको निर्वाचन अन्यौलमै छः नेता नेपाल


काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको रवैयाले अझै दोस्रोचरणको निर्वाचन अन्यौलमै रहेको बताउनुभएको छ ।

एमालेको नियमित पत्रकार सम्मेलनमा नेता नेपालले त्यस्तो बताउनुभयो । “पहिलो चरणको निर्वाचन अब कसैले रोकेर रोकिदैन, तर दोस्रोचरणको निर्वाचन अझै अन्यौलकै भुमरीमा छ” उहाँले भन्नुभयो । सरकारले तोकेको जेठ ३१ गतेको दोस्रोचरणको मिति नै गलत रहेको भन्दै उहाँले सरकारको कामप्रति आशंका व्यक्त गर्नुभयो ।

“जेठ ३१ गते दोस्रोचरणको मिति तोकेर सरकारले मुस्लिम समुदायमाथि अपमान गरेको छ” भन्दै उहाँले मुश्लिम समुदायको रमजान पर्वप्रति सरकारलाई अन्याय गर्न मिल्दैन भन्नुभयो । सरकारले सो मिति जेठ अघि नसारे मुश्लीम समुदायले त्यसको जवाफ मतदानबाट दिने बताउनुभयो ।

“जेठ ३१ गते दोस्रोचरणको मिति तोकेर सरकारले मुस्लिम समुदायमाथि अपमान गरेको छ” भन्दै उहाँले मुश्लिम समुदायको रमजान पर्वप्रति सरकारलाई अन्याय गर्न मिल्दैन भन्नुभयो ।

सरकारले बजेट ल्याएर त्यसमार्फत चुनावी प्रचार गर्न मनसाय बनाएको देखिन्छ, त्यो एमालेलाई सह्य हुँदैन भन्दै नेता नेपालले जेठ १४ सम्म भएपनि दोस्रोचरणको निर्वाचन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिपक्षीदल एमालेसँग कुनै सल्लाह र परामर्श नै नगरी दोस्रोचरणको मिति तोकिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

अहिले मतभार सम्बन्धी कानून, प्रदेश सम्बन्धी कानून, प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी कानून, प्रदेश सभा गठन सम्बन्धको कानून निर्माण हुन बाँकी नै रहेकाले त्यसकालागि सरकार जुट्नुपर्ने बताउनुभयो । मतगणना पहिलो चरणको निर्वाचन लगत्तै गर्ने कि दोस्रोचरणको निर्वाचनपछि गर्ने भन्ने जवाफ सरकारले जनतालाई अझै दिन नसकेको उहाँले बताउनुभयो ।

दोस्रोचरणको निर्वाचनको मिति धेरै पछाडि तोकिएकाले पहिलो चरणको निर्वाचन सकिने वित्तिकै मतगणना हुनुपर्छ उहाँले भन्नुभयो । दोस्रोचरणको निर्वाचन जेठ १५ अघि कायम हुनसके दुवैचरणको मतगणना भने एकै पटक गर्न सकिने उहाँको सुझाव छ ।

माओवादी केन्द्र छलछाम र विधिको शासन नमान्ने पार्टी भएको आरोप लगाउँदै नेता नेपालले चुनावमा सत्ताको दुरुपयोग गर्ने प्रयास भए एमालेलाई सह्य नहुने बताउनुभयो । “एमालेका कार्यकर्तामाथि आक्रमण हुँदा सरकार आनन्द मानेर हेरिरहेको छ, सुरक्षाको व्यवस्था गरिरहेको छैन” उहाँले भन्नुभयो ।

एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले निर्वाचन आयोगको कामप्रति एमालेलाई गम्भीर आशंका उब्जिरहेको बताउनु  भयो । जेठ ३१ को मितिलाई अघि ल्याउने विषयमा आयोगले पनि गम्भीरता नदेखाएको उहाँको आरोप छ ।

तपाईको प्रतिक्रिया