नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो


भगतराम थारु
बाँके, वैशाख २८ गते । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाइएको छ । पछिल्लो समय पहाडि जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीमाक्षेत्रमा नेपालीसँगै भारतीय सुरक्षा निकायले समेत सतर्कता अपनाएका छन् ।

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको सहभागितामा संयुक्त गस्ती समेत हुनेगरेको छ । सशस्त्र प्रहरी बलकाअनुसार बिहिवार सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखकालागि पिल्लर नम्बर २६ देखि ३० सम्मको सीमावर्ती क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमाबलले संयुक्त गस्ति गरेको सशस्त्र प्रहरी बल कालाबञ्जरका सशस्त्र प्रहरी निरिक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर सुरक्षापोष्ट कालाबञ्जर र भारतको सशस्त्र सीमाबलको कम्पनी हेडक्वार्टर मुन्सीपुर्वाका १३÷१३ जना सुरक्षाकर्मीको टोलीले बिहिवार संयुक्त गस्ति गरेको हो । संयुक्त गस्ति टोलीमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक कुँवर र भारतीय एसएसबीको नेतृत्व निरिक्षक तेजवन्त सिँहले गर्नुभएको थियो ।

सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । नियमित पनि मासिक दुईवटा संयुक्त गस्ति हुन्छ ।

सीमाक्षेत्रमा संयुक्त गस्तिहरु यसअघि पनि पटक पटक हुँदैआएकोमा यसपटक नेपालमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गरिएको हो । नेपालमा हुनलागेको पहिलो चरणको स्थानीय निर्वाचनलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउनकालागि सीमामा बिशेष निगरानी गर्नुकासाथै संयुक्त गस्ती गर्न थालिएको सुरक्षा निकायले जनाएको छ ।

पहिलोचरणमा प्रदेश नम्बर ३, ४ र ६ मा आइतबार हुने चुनावकालागि बाँकेमा बिशेष सुरक्षा सतर्कता अपनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले निर्वाचनको सुरक्षाकालागि जिल्लास्तरमा सुरक्षा योजना बनाएको जानकारी दिदै भारतीय सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया