चनौरा (कैलाली), वैशाख ३० गते । सामाजिक, धार्मिक तथा सांस्कृतिक एकता र पहिचानका लागि बरघरिया थारुले कैलालीको चनौरामा गोतियार सम्मेलन गरेका छन् । सम्मेलनले गोतियार एकता कायम गरी आपसी सहयोगका लागि अगाडि बढ्ने निर्णय गरेको छ ।
सम्मेलनले लवारी चौधरी (कैलारी) को अध्यक्षतामा ११ सदस्यीय बरघरिया गोत्र तदर्थ समिति गठन गरेको छ । सो समितिले आगामी दिनमा विधान तयार गरी त्यसको काम, कर्तव्य र अधिकार बारेमा थप छलफल गरी गोतियार एकता र भाषा संस्कृतिको विकासमा समेत काम गर्ने तयारी गरेको छ ।
समितिको उपाध्यक्षमा पाँचुराम चौधरी (चनौरा), सचिवमा महंगु चौधरी (पथरी), सहसचिवमा सुनिलाल चौधरी (चनौरा), कोषाध्यक्षमा सविता चौधरी (रामपुर) रहेका छन् । त्यस्तै सदस्यमा क्रमशः सुशीला चौधरी (चनौरा), जुगराम चौधरी (सराघाट, कञ्चनपुर), रामनाथ चौधरी (फूलबारी), ज्ञानबहादुर चौधरी (पहलमानपुर), पीप्पली चौधरी (रामपुर) र परागु चौधरी (रामपुर) रहेका छन् ।
गौरीगंगा नगरपालिका वडा नं. १ चनौराको ठागुराम चौधरीको घरमा भएको सम्मेलनमा करिब अढाईसय गोतियार प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको अध्यक्ष लवारी चौधरीले बताउनुभयो । बरघरियाको नामले चिनिने आफूहरु ‘कुश्मी’ थरका थारु भएको भएपनि कुन कुश्मीभित्र पर्ने एकिन नभएको अध्यक्ष चौधरीको भनाई छ । आगामी दिनमा त्यसको पहिचान हुने उहाँले बताउनुभयो ।
सोहीअनुसार सम्मेलनले सात सदस्यीय अर्थ समिति पनि गठन गरेको छ । सम्मेलन तथा छलफल कार्यक्रम आयोजना गर्न आर्थिकको आवश्यकता पर्ने भन्दै सम्मेलनले बलिराम चौधरी (चनौरा) को संयोजकत्वमा सात सदस्यीय अर्थ समिति गठन गरेको हो ।
बरघरिया गोतियारको दोस्रो सम्मेलन आगामी जेठको तेस्रो सातातिर धनगढी उपमहानरपालिका –१६, बेहडाबाबा रामपुरमा गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
समितिको सदस्यमा शान्ति चौधरी (चनौरा), इन्द्रदेवी चौधरी (चनौरा), नारायण चौधरी (रामपुर), जुगराम चौधरी (रामपुर), खेम चौधरी (रामपुर) र भोजराज चौधरी (पथरी) रहेका छन् । सो समितिले आर्थिक संकलन गरी कार्यक्रमको तयारी गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
बरघरिया गोतियारको दोस्रो सम्मेलन आगामी जेठको तेस्रो सातातिर धनगढी उपमहानरपालिका –१६, बेहडाबाबा रामपुरमा गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । विगतमा गाउँको अगुवाई गरेको र संयुक्त परिवारमा बस्दा ठूलो घर भएकाले आफूहरुलाई त्यतिबेलादेखि बरघरिया नाम दिइएको अध्यक्ष चौधरीले बताउनुभयो ।
बरघरिया थारुहरु बेहडाबाबा रामपुरमा सबैभन्दा वढी ५५ घर परिवार रहेका छन् । त्यसपछि चनौरामा ४४ घर छन् । त्यस्तै, पथरी, पहलमानपुर, बाँसखेरा, मजगाउँ, दैद्वारी, भारतको पलिया र कञ्चनपुरको सराघाटमा बरघरिया थारुको बसोबास रहेको सम्मेलनले ठहर गरेको छ ।