काठमाडौं, वैशाख ३१ गते । संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको पार्टी संघीय लिम्बूवान नेपालबीच सोमबार एकता हुने बताइएको छ । समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भोलि पार्टी एकता घोषणा हुने सो दलले जानकारी गराएको छ ।
पार्टीको हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्धान्त र एजेन्डा मिल्ने भएकोले सँगैमिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेको बताएका छन् ।
संघीयता र पहिचानलाई मुख्य एजेन्डा बनाएर मधेशी, आदिवासी जनजाति, दलित, खस, महिला, मुस्लिमलगायत उत्पीडित समुदायको पक्षमा संघर्षरत फोरम नेपालसँग माखिम नेतृत्वको सिङ्गो पार्टी नै एकीकरण हुन लागेको हो । पूर्वी नेपालको दश वटा जिल्लामा माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालको पकड रहेको बताइन्छ ।