भ्रष्टाचारको मूल सुकाई धनगढीमा आर्थिक समृद्धि गर्छुः हमाल


गोपाल हमाल
मेयर (प्रमुख) पदको उम्मेदवार
धनगढी उपमहानगरपालिका, कैलाली

उद्योग व्यवसायमा लामो समयको अनुभव संगाल्नुभएका सफल उद्योगी गोपाल हमाल धनगढीमा मात्र होइन, राष्ट्रियस्तरमै परिचित नाम   हो । उद्योग बाणिज्य संघ कैलालीको उत्कृष्ट नेतृत्व गरिसक्नुभएका हमाल स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका लागि स्वतन्त्रबाट मेयर (प्रमुख) पदको उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा होमिनुभएका छ । प्रस्तुत छ उहाँसँग पत्रकार लक्की चौधरी ले गर्नुभएको कुराकानीको अंश –

तपाई सफल उद्योगी व्यवसायी हो, आफ्नो व्यावसाय गर्न छाडेर राजनीतिक क्षेत्रमा कसरी आकर्षित हुन पुग्नुभयो ?
हो, तपाईले भनेको कुरा सही हो । तर म आफ्नोलागि मात्र सफल भएर त भएन नि, यहाँको विकास गर्नु पनि मेरो दायित्व र कर्तव्य दुवै हो । हेर्नुस्, यहाँ व्यवस्था धेरै परिवर्तन भयो तर अवस्था परिवर्तन भएन । अवस्था परिवर्तन नगरेर दिगो विकास हुँदैन, दिगो विकास नभएर आर्थिक समृद्धि हात लाग्दैन । अवरुद्ध विकासलाई सही बाटोमा ल्याउन मेरो उम्मेदवारी हो । राजनीतिक दलका नेताले सकेनन्, अब हामी समाजिक तहबाटै विकास गरौं भनेर म यो अभियानमा होमिएको हुँ ।

तपाईलाई मतदाताले किन मतदान गर्ने ?
मेरो काम र प्रतिवद्धताको आधारमा मतदाताले मलाई सहयोग गर्नुपर्छ । म निर्वाचित भएमा पहिलो काम यहाँको भ्रष्टाचार निर्मूल गर्छु । दोस्रो काम, यहाँको डुवान समस्या समाधान गर्छु । तेस्रोमा यहाँको कृषिलाई यान्त्रीकरण गरी व्यावसायीक कृषि गरी ‘एक वडा एक उत्पादन’ को व्यवस्था गरी आय आर्जन बढाउछुँ, चौथोमा स्वरोजगारको तालिम सञ्चालन गरेर युवा र महिलालाई स्वरोजगारको व्यवस्था गर्ने र वैदेशिक रोजगारलाई क्रमशः न्यूनिकरण गर्दै जाने नीति बनाउने छुँ । यहाँ पहुँचको आधारमा छिटपुट विकास भएको छ तर प्राथमिकताको आधारमा छैन, म निर्वाचित भएमा प्राथमिकतालाई आधार बनाउँछु । पाँचौ, धनगढी उपमहानगरपालिकाभित्र ग्राभेल युगको अन्त्यगरी सडक चौडा तथा गुणस्तरीय पक्की सडक बनाउनेमा लाग्छु । यहाँ स्रोतसाधनको कमी छैन, त्यसको सही परिचालन र कार्यान्वयनको कमी छ । म त्यसलाई सहीरुपमा कार्यान्वयन गरेर देखाउँछु, । त्यसैले मतदाताले मलाई एक पटक मतदान गर्नुपर्छ भन्ने लाग्छ ।

कृषकले आफूले उत्पादन गरेको सामग्री बजारसम्म ल्याउन नसकेको र बजार भाउ नपाएको गुनासो गर्ने गर्छन्, तपाईको पहल के रहन्छ ?
कृषकलाई पहिले आवश्यकताअनुसारको तालिम दिनुपर्छ । किसानले उत्पादन गरेको सामग्रीको बजारको सुनिश्चित्ता गर्ने काम मेरो हुन्छ । सडक नपुगेको ठाउँमा सडक पु¥याउने र उत्पादित सामग्रीको सही मूल्य तोकेर कृषकलाई मर्का नपर्नेगरी व्यवस्था गर्छु । कृषकलाई बजारसम्म आउनै नपर्नेगरी घरमै बोरा पठाएर उत्पादित सामग्री खरिदको व्यवस्था गर्न सकिन्छ । यसमा मेरो स्पष्ट योजना छ । जहाँ जे चिजको उत्पादन हुन्छ, त्यसलाई त्यही ‘उत्पादन जोन’ तोकेर व्यवस्थित उत्पादनमा जोड दिन्छु ।

तपाई पर्यटकीय क्षेत्रमा प्रशस्त काम गर्नुभएको छ, त्यो सम्भावनालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
मोहना करिडोरलाई व्यवस्थित गर्छौं । चराकालागि राम्रो सम्भावना भएको क्षेत्र हो यो । बेहडाबाबा यस क्षेत्रका राम्रो सम्भावना बोकेको धार्मिक पर्यटकीय स्थल हो । त्यसको सही विकास र व्यवस्थापन गर्नुपर्छ । बेहडाबाबामा बाह्रै महिना धार्मिक पर्यटक पुग्ने बाटोघाटो पूर्वाधार निर्माण गरेर धार्मिक पर्यटनको मुख्य केन्द्रकोरुपमा विकास गर्छु । त्यसोगरेमा ग्रामीण क्षेत्रको जनजीवनमा प्रत्यक्ष लाभ पुग्छ । त्यस्तै, जोखर ताल, शिवपुरी धाम लगायतको क्षेत्रको समुचित विकास गरेर पर्यटकीय क्षेत्रको विस्तार गर्न सकिन्छ ।

तपाई स्वतन्त्र उम्मेदवार हो, निर्वाचित भएमा तपाईले बनाएको योजना कसरी कार्यान्वयन गर्नुहुन्छ ?
मूल साङ्लो भयो भने खोला अवश्य साङ्लो हुन्छ । मैले बनाएको २८ बुँदे प्रतिवद्धता पत्रलाई अहिले प्रमुख दलका उम्मेदवारले चुनावी घोषणापत्र बनाएका छन् । यसबाट के बुझिन्छ भने विकासलाई दलले स्वीकारेका छन् । विकासको बाधक कोही हुँदैन । मैले लिने आर्थिक विकासको नीतिलाई कसैले अस्वीकार गर्लाजस्तो मलाई लाग्दैन । यो उपमहानगरपालिकामा खाली भएको तीन महिनामा मुङको खेतीगर्ने हो भने कृषकको आम्दानी ह्वात्तै बढ्छ । यो गर्नमा कसले रोक्छ ? यहाँको खोलानाला अतिक्रमण भएको छ । त्यसको व्यवस्थापनको नीति बनिसकेको छ, कार्यान्वयन गर्नमात्र बाँकी छ । ईच्छाशक्ति र इमान्दारिता भएमा काम गर्नमा कसले अवरोध गर्छ ? म सँग ईच्छाशक्ति छ, काम गरेर देखाइदिन्छु ।

म निर्वाचित भएमा राज्यबाट पाउने सुविधा नै लिंदैन भनेको    छुँ । म सुविधा नलिएपछि भ्रष्टाचारको प्रश्न कसरी उठ्ला ? म निर्वाचित भएमा यहाँको भ्रष्टाचारको मूल नै सुकाई दिन्छु ।

भ्रष्टाचारको जालो सर्वत्र फैलिएको छ, तपाईले त्यसको अन्त्य गर्छु भन्नुभएको छ, सम्भव होला ?
पहिलो कुरा त नेतृत्वकर्ता नै सङ्लो हुनुपर्छ । म त्यसकोलागि तयार छुँ । म निर्वाचित भएमा राज्यबाट पाउने सुविधा नै लिंदैन भनेको छुँ । म सुविधा नलिएपछि भ्रष्टाचारको प्रश्न कसरी उठ्ला ? म निर्वाचित भएमा यहाँको भ्रष्टाचारको मूल नै सुकाई दिन्छु । भ्रष्टाचारको मूल सुकेमा मात्र आर्थिक समृद्धि सम्भव छ । मैले कसैलाई सोध्न जरुरी छैन, कसैको दवाव सहनु छैन । यहाँको विकास र समृद्धिका लागि यहाँको स्थानीय जनताको राय सल्लाहमै काम गर्नेछु । त्यसोगर्दा त भ्रष्टाचार अन्त्य होला   नि । नेतृत्वकर्ताले भ्रष्टाचार गरेन भने कर्मचारीले पनि भ्रष्टाचार गर्न हिम्मत नगर्लान् ।

धनगढी उपमहानगरपालिकालाई नमूना बनाउँछु भन्नुभएको छ, कसरी गर्नुहुन्छ ?
योजना र ईच्छाशक्ति दुवै देखिएन अहिलेसम्म । धनगढीमा स्रोत साधनको कमी छैन । नेतृत्वकर्ता जवाफदेही बनेमा विकासको काम गर्न कुनै कठिनाई छैन । धनगढी अर्धनास भइसकेको छ तर सर्वनास भएको छैन । यो अर्धनासलाई सम्पन्न बनाउन सकिन्छ, मेरो लक्ष्य त्यही हो । म निर्वाचित भएमा यहाँकै स्रोत साधनले धनगढीलाई सम्पन्न बनाएर नेपालकै नमुना उपमहानगरपालिका बनाउँछु, यो मेरो प्रतिवद्धता हो ।

निर्वाचित भएमा पाँच वर्षको विकासे योजना तपाईको के के रहन्छ ?
पहिले धनगढीमा सुशासन कायम गर्छु । यहाँको डुवान समस्याको समाधान गर्छु । सघन सहरी विकासको योजनालाई तत्काल कार्यान्वयन गर्छु । ग्रामीण क्षेत्रमा कृषिका लागि माटोको परीक्षण गरी एग्रो फोरेष्ट्रिको कामलाई अघि बढाउँछु । प्लाइउड उद्योगसँग मिलेर विरुवा उपलब्ध गराएर किसानलाई रोप्न लगाउँछु । त्यसले पर्यावरणलाई पनि राम्रो गर्छ र किसानको आम्दानी पनि बढ्छ । किसानको लगानीको सुनिश्चित्ताको वातावरण बनाउँछु । तटबन्ध निर्माण गरेर यहाँको डुवान सुरक्षा सुनिश्चित गर्छु । यहाँको अर्को आर्थिक मेरुदण्डकोरुपमा हुने धनगढी–दिपायल सडक निर्माणमा मेरो प्राथमिकता रहन्छ । स्वप्ना द्रष्टाले नै विकास गर्न सक्छ त्यो म सँग छ ।

यो स्थानीय निर्वाचन हो, तपाईको आफ्नो मूल्याङ्कन के हो ?
यो एक किसिमको जनमत–संग्रह हो । जनताले विकास चाहन्छ कि परम्परागत सोचाई राख्छ भन्ने यो निर्वाचनले निक्र्यौल गर्नेछ । राजनीतिक दललाई मार्गदर्शन गर्नेछ । जनता परिवर्तन र विकास चाहन्छन् कि चाहन्नन् पुष्टि हुन्छ । हिजोकै रवैयामा समाज बाच्न चाहन्छ कि परिवर्तन चाहन्छ भन्ने यस निर्वाचनले तय गर्नेछ । विकासका लागि कुशल व्यवस्थापक नै चाहिन्छ, राजनीतिज्ञले सक्दैन । अहिलेको उद्योग कलकारखाना बन्द हुनुको पछाडिको कारण यही हो ।

जनता परिवर्तन र विकास चाहन्छन् कि चाहन्नन् पुष्टि हुन्छ । हिजोकै रवैयामा समाज बाच्न चाहन्छ कि परिवर्तन चाहन्छ भन्ने यस निर्वाचनले तय गर्नेछ ।

युग प्रविधिमा तिव्र विकास गरिरहेका छ, तपाईको यसमा के पहल रहन्छ ?
मिडिया र सूचना प्रविधिको विकास भनेको पारदर्शीताका लागि हो । मैले गर्ने हरेक काम र प्रगतिलाई पारदर्शी बनाउन प्राविधिकरुपमा नयाँ शुरुवात गर्नेछु । जनताको आवश्यकता र सुझावअनुसार नै काम गर्नेछु । शुरुमा धनगढीको एयरपोर्ट बनाउने कुरागर्दा, को चढ्छ यहाँ प्लेन ? भनेर टिप्पणी हुन्थ्यो । अहिले त्यसको विकास भएर अवस्था हेर्नुस् कहाँ   पुग्यो । भोलि यसको विस्तार गरेर अझ प्रभावकारी बनाउन सकिन्छ । विकास भन्ने चिजबाट कोही भाग्न सक्दैन, भाग्नु हुँदैन । त्यसको शुरुवात यहाँ म गर्छु ।

यहाँ क्षेत्रीयता र वर्गियताले काम गरेको देखिन्छ, निर्वाचनमा यसले केही प्रभाव पार्ला ?
हामी धनगढीका नगरबासी हौं । न यो ठाउँ डोट्यालको हो, न बैतडेलीको, बाजुरेली न थारुको हो । यो यहाँ बस्ने सबैको साझा हो । त्यसैले क्षेत्रीयता नारालाई विस्थापित गर्नुपर्छ । रातारात हुँदैन तर पहल गर्नुपर्छ । सबैलाई समान न्याय चाहिएको छ । मेरो कार्यकालमा म यो काम पनि गर्छु । निर्वाचनमा क्षेत्रीयताको सामान्य प्रभाव त पर्छ तर राम्रो होइन । कमसल उम्मेदवारलाई पनि क्षेत्रीयता मिल्छ भन्दैमा मत दिनु भनेको मत खेर फाल्नु मात्र हो ।

अन्त्यमा भन्न बाँकी रहेका केही छन् भने ?
जयबाबा गुरुदेवले भनेका छन्, ‘तुम बदलो जग बदला’ । जबसम्म आफू बदलिन्न तवसम्म समाज परिवर्तन हुँदैन । धनगढी नगरबासीको चाहना नेता बदलियोस् भन्ने छ भने पहिले आफू बदलिनुपर्छ । सधैं त्यही ठाउँमा मतदान गर्नुभन्दा यसपाली मलाई मतदान गरेर हेर्नुस् । फरक परिणामको आशा छ भने मतदान पनि फरक ठाउँमा गर्नुहोस् । विकासको समृद्धि चाहनु हुन्छ भने गोपी हमाललाई मतदान गरिदिनुस् । तपाईहरुको चाहना र भावनाको उच्च कदर गर्दै पाँच वर्षे कार्यकालमा यहाँको विकासे स्वरुप नै परिवर्तन गर्ने मेरो तिव्र लक्ष्य हो ।

तपाईको प्रतिक्रिया