लक्की चौधरी
धनगढी, जेठ १९ गते । दोस्रोचरणको निर्वाचन नजिकीदैगर्दा प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा दलीय चुनावी चटारो बढेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख (मेयर) का स्वतन्त्र उम्मेदवार गोपी हमालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
सुदूरपश्चिम (प्रदेश नं. ७) का प्रमुख व्यापारीक केन्द्रकोरुपमा रहेको धनगढी उपमहानगरपालिकाको प्रमुख पद आफ्नो पोल्टामा पार्न प्रमुख दलबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । प्रमुख र उपप्रमुख पद जित्न उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले बताउनुभयो ।
मतदातालाई फकाउन प्रमुख दलसहित स्वतन्त्र उम्मेदवार पनि मैदानमा होमिएका छन् । विभिन्न नारा र योजनाले भरिएका चुनावी घोषणापत्रकासाथ घरदैलो गरिरहेका उम्मेदवारको चुनावी प्रतिवद्धता करिब समान देखिएको छ । आर्थिक समृद्धि र यथोचित विकासलाई प्रमुख नारा बनाएका उम्मेदवारले त्यसको व्यवहारिक कार्यान्वयनको प्रतिवद्धता जनाइरहेका छन् । तर मतदाताले ती प्रतिवद्धतालाई खासै विश्वास गर्न सकेका छैनन् ।
धनगढी उपमहानगरपालिकाको यसअघिको निर्वाचनको मत आँकलन हेर्दा नेपाली कांग्रेस नै बलियो रहेको देखिए पनि अहिलेको परिस्थिति केही फरक रहेको विश्लेषण मतदाताहरुको छ । एकातिर पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले) ले प्राप्त गरेको मत परिणामअनुसारले यहाँ पनि परिस्थिति फरक पर्नसक्ने विश्लेषण छ भने अर्कोतिर परम्परागत दलीय मत नै हावी हुने विश्लेषण छ । तर स्वतन्त्र उम्मेदवारहरुले प्रमुख दलको मतलाई प्रभावित गर्ने चेतावनी दिएका छन् ।
कांग्रेसभित्रको आन्तरिक समस्याले उम्मेदवार चयन हुन नसकेको गुनासो गर्दै कांग्रेस कैलाली कार्यालयमा केही दिनदेखि तालबन्दी यथावत छ ।
एमाले, माओवादी केन्द्र, राप्रपासहित अन्य साना दलले समेत उम्मेदवार तय गरिसकेको अवस्थामा कांग्रेसले आजको मितिसम्म उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्न सकेको छैन । कांग्रेसभित्रको आन्तरिक समस्याले उम्मेदवार चयन हुन नसकेको गुनासो गर्दै कांग्रेस कैलाली कार्यालयमा केही दिनदेखि तालबन्दी यथावत छ ।
नेकपा (एमाले) का मेयर (प्रमुख) पदका उम्मेदवार दुर्गाप्रसाद जोशीले दलको केन्द्रीय चुनावी प्रतिवद्धतापत्र र मतदातासँगको आफ्नो सम्बन्धले निर्वाचन जित्ने दावी गर्नुहुन्छ । “एकातिर एमालेको पक्षमा जनलहर छ, अर्कोतिर यो क्षेत्रमा मतदाताहरुसँग मेरो आफ्नै सुमधुर सम्बन्ध छ, यसले मलाई जित्ने आधार दिएको छ” उहाँले भन्नुभयो ।
आफू निर्वाचित भएमा धनगढीमा व्याप्त भ्रष्टाचारको अन्त्य, व्यवस्थित शहर, बाटोघाटोको निर्माण, डुवान समस्याको अन्त्य, युवालाई स्वरोजगार, पिउने पानी तथा कृषकलाई यथोचित सिंचाईको प्रबन्ध गर्ने प्रतिवद्धता जोशीले जनाउनुभयो । हरेक वडामा प्राविधिक शिक्षालयको स्थापना गरेर समाजलाई सचेत बनाउने योजना आफ्नो रहेको उहाँले बताउनुभयो । जोशीले आफ्नो प्रमुख प्रतिस्पर्धा कांग्रेस उम्मेदवारसँग हुने दावी गर्नुभयो ।
माओवादी केन्द्रका मेयर (प्रमुख) पदका उम्मेदवार रामसमझ रानाथारुले आफू जित्नेमा विश्वस्त रहेको बताउनुभयो । धनगढीलाई व्यवस्थित शहर बनाई एक घर एक रोजगारको व्यवस्था गर्ने योजना उहाँले सुनाउनुभयो । विकासको काम जनतामार्फत गराएर रोजगारी सृजना गर्ने उहाँको भनाई छ । आफू निर्वाचित भएमा कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
आफू निर्वाचित भएमा भ्रष्टाचारको जरैदेखि अन्त्यगरी धनगढीलाई नमूना उपमहानगरपालिकामा रुपान्तरण गर्ने उहाँको प्रतिवद्धता छ ।
प्रमुख पदका स्वतन्त्र उम्मेदवार तथा उद्योगी गोपाल हमालले दलको परम्परागत कार्यशैली बाट स्थानीयहरु वाक्कदिक्क भएकाले समृद्धि र विकासका लागि आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आफू निर्वाचित भएमा भ्रष्टाचारको जरैदेखि अन्त्यगरी धनगढीलाई नमूना उपमहानगरपालिकामा रुपान्तरण गर्ने उहाँको प्रतिवद्धता छ । घरदैलो अभियानमा हमालले राज्यबाट पाउने सुविधाहरु वडाको विकासमा लगानी गर्ने प्रतिवद्धता गर्दैआउनुएको छ ।
“म आफैमा उद्योगी हुँ, मलाई राज्यको सुविधा लिन आवश्यक छैन, जति सुविधा आउँछ सबै विकासमा पारदर्शीरुपमा जनताकै अगाडि लगानी गर्छु” उहाँले भन्नुभयो ।
कांग्रेसभित्रको विवादकाकारण टिकट वितरणमा समस्या कायमै रहेको छ । झण्डै चार दिनदेखि टिकटका लागि जिल्लाका नेतृत्वतहका नेताहरु काठमाडौं पुगेपनि छिनोफानो हुन नसकेको समानुपातिक सांसद तथा स्थानीय नेता प्यारेलाल रानाथारुले बताउनुयभो । प्रमुख पदमा कृष्णबहादुर महारा र नृप वडको चर्चा रहेको भएपनि टुंगो भने लाग्न सकेको छैन ।