रानाथारु समुदायको वस्तीमा केन्द्रीत हुँदैछ धनगढीको चुनावी प्रचार


अविनाश चौधरी
धनगढी, जेठ १९ गते । धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) निर्वाचनमा रानाथारु समुदायको मतले ठूलो प्रभाव पार्ने भएपछि राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई रानाथारु समुदायमा केन्द्रित गरेका छन् ।

धनगढी उपमहानगरपालिकाभित्र बसोबास गरिरहेका रानाथारु यहाँको आदिम बासिन्दा हुन् । उनीहरु अधिकांश यहिंकै मतदाता भएकाकारण भोट आफ्नो पक्षमा पार्न दलहरुले रानाथारु समुदायमा चुनावी प्रचार प्रसारलाई बढी ध्यान दिएका हन् । यो समुदायको मतले नगर प्रमुख चयनमा निर्णायक भूमिका निर्वाह गर्ने अडकल गरिदै छ ।

यो उपमहानगरपालिकामा बसोबास गरिरहेका सबै व्यक्ति यहाँको मतदाता होईनन् । धनगढीमै बसिरहेका कतिपयको कैलालीकै अन्य क्षेत्र वा पहाडी जिल्लामा मतदाता नामावली रहेको छ । तर, यहाँ बसोबास गरिरहेका रानाथारु भोट हाल्न अन्यत्र नजाने भएकाकारणले दलहरुको दृष्टि रानाथारु समुदायमा परेको हो ।

यहाँ बसोबास गरिरहेका रानाथारु भोट हाल्न अन्यत्र नजाने भएकाकारणले दलहरुको दृष्टि रानाथारु समुदायमा परेको हो ।

धनगढीमा पुरानो बस्तीकोरुपमा चिनिएको रानाथारु बाहुल्य गाउँ धनगढी, मनहेरा, घुईयाघाट, जुगेडा लगायतमा दलहरुले चुवानी प्रचारप्रसार तीव्र पारेका छन् । स्थानीय तहको दोस्रोचरणको निर्वाचनको चहल पहल चलेकाबेला रानाथारु समुदायका घरको छाना दलहरुका चुनाव चिन्ह अङ्कित झण्डाले रङ्गिएका छन् । एकै घरको छतमा विभिन्न राजनीतिक पार्टीको झण्डा टाँगिएका छन् ।

प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढीको जित दलहरुको प्रतिष्ठासंग समेत जोडिएको छ । प्रतिष्ठा जोगाउन र प्रभाव देखाउनका लागि दलहरुले रानथारु बस्तीमा दिनहुँ घरदैलो गरिरहेका छन् । दिनैपिच्छे राजनीतिक दलहरु भोट माग्न आउँदा चुनावी रौनक बढेको रानाथारु समुदायका व्यक्तिले बताएका छन् । उनीहरुले दलहरु समक्ष आफ्नो अपेक्षा समेत सुनाउन थालेका छन् ।

यो क्षेत्रको आदिमवासी रहेपनि छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत हुन नसक्दा विभिन्न समस्या भोग्दै आएको रानाथारुले बताएका छन् । उनीहरुले छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत हुन राजनीतिक दलहरुले पहल गर्नुपर्नेमा जोड दिएका छन् । अहिलेसम्म साँस्कृतिकरुपमा छुट्टै पहिचान नपाएकाले राजनीतिक, सामाजिक, आर्थिक अधिकारमा आफ्नो समुदाय पछाडि परेको धनगढी गाउँका स्थानीय रामदिन रानाले बताउनुभयो ।

‘हामीलाई छुट्टै आदिवासी जनजाति समूहमा सूचिकृत नगरिंदा अड्डा अदालत, सरकारी जागिर लगायतमा हाम्रो समुदायको पहुँच हुनसकेको छैन’, उहाँले भन्नुभयो–‘राजनीतिक दलहरुले हाम्रो यो सवाललाई उठाउनु पर्दछ । हाम्रो सवाल उठाउनलेलाई नै भोट दिन्छौं ।’

स्थानीय तहको चुनावी रौनक बढ्दै गएको बेला राना थारु समुदायले सबैभन्दा पहिले पहिचान खोजेको स्थानीय नेता समेत रहनु भएका धनीराम रानाले बताउनुभयो । छुट्टै पहिचान भएमात्रै राना थारुको विकास हुने उहाँको भनाइ छ ।

यहाँ अन्यको तुलनामा रानाथारु समुदाय तुलनात्मकरुपमा पछाडि रहेको देखिन्छ । यो समुदायमा शिक्षा र विकासको अवस्था अझै न्यून रहेको छ । सहरी क्षेत्रमा बसेर पनि अधिकाङ्स परिवार निर्वाहमूखी खेतीमा निर्भर छन् । आफ्नो समुदाय गरिबीको रेखामुनी रहेकाले व्यापार व्यवसायकालागि ऋण सहुलियत, खेती गर्नकालागि सरकारी सिचाइँ सुविधा नेताहरुले गर्नु पर्ने रामलाल रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘व्यापार कर्जा लिएमा ब्याज धेरै पर्दछ । त्यसैले ऋण सहुलियत हुनुप¥यो । गाउँ घरमा बाटो राम्रो छैन । बाटो बनाइ दिनु प¥यो । यहि काम गर्ने नेतालाई भोट दिएर जिताउँछौ ।’ धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ३, ७, ८, ९, ११, १२, १३, १५, १६ मा रानाथारुको बसोबास रहेको छ ।

स्थानीय तहको चुनावी रौनक बढ्दै गएको बेला राना थारु समुदायले सबैभन्दा पहिले पहिचान खोजेको स्थानीय नेता समेत रहनु भएका धनीराम रानाले बताउनुभयो । छुट्टै पहिचान भएमात्रै राना थारुको विकास हुने उहाँको भनाइ छ ।

‘अहिलेसम्म मुलुकमा विभिन्न व्यवस्था परिवर्तन भयो तर रानाथारुको अवस्था परिवर्तन हुन सकेन’, उहाँले भन्नुभयो–‘हामीलाई छुट्टै आदिवासी जनजातिकोरुपमा सूचिकृत नगर्दासम्म हाम्रो समुदायको विकास असम्भव छ । यसकासाथै राजनीतिक दलहरुले सम्बोधन गर्नु पर्ने थुप्रै मुद्दाहरु छन् ।’

तपाईको प्रतिक्रिया