लक्की चौधरी
कैलाली, जेठ २१ गते । उर्मा –४, रामपुर गाउँमा अवस्थित बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहराको अवसरमा मेला शुरुभएको छ । हरेक वर्ष दशहराको अवसरमा लाग्ने मेलामा लाखौं भक्तजन मेलाभर्न आउने गर्छन् ।
हाल धनगढी उपमहानगरपालिका १६ मा पर्ने सो शिवजीको मन्दिर कैलालीको प्रमुख धार्मिकस्थलकोरुपमा परिचित छ । त्यहाँ भारतको उत्तरप्रदेश, उत्तराखण्डबाट समेत हजारौं भक्तजन दर्शनका लागि आउने गर्छन् । गंगा दशहराबाट शुरुहुने मेला पाँचदिनसम्म सञ्चालन हुनेगर्छ ।
शिवजीको दर्शनले मागेको वर प्राप्त हुने भएकाले भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिरका पूजारी खुशीराम चौधरीले बताउनुभयो । पुत्रलाभदेखि अन्य संकटमोचन गर्ने शक्ति बेहडाबाबामा रहेको विश्वासले भक्तजनको घुइँचो लाग्नेगरेको पूजारी चौधरीको भनाई छ ।
अहिले पनि ‘पत्नीलाभ, पुत्रलाभ, धनलाभ, गर्नुछ भने बेहडाबाबा मन्दिर (धार्मिकस्थल) को एकपल्ट अवश्य दर्शन गर्नु’ बुढापाकाको जनजिभ्रोमा सुनिन्छ । धनगढीबाट करिब १० किलोमिटर पूर्व र महेन्द्र राजमार्गको चौमालाबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्ने मेलामा कैलाली बाहेक अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु मेला भर्न आउने गरेको स्थानीय रामपुरबासी परागु चौधरीले बताउनुभयो ।
परापूर्वकालमा शिवलिङ्ग आफै उत्पत्ति भएर स्थापना गरिएको मन्दिरको दर्शनपछि मागेको वर प्राप्त हुने विश्वास भक्तजनहरुको छ । मेलाभर्न आउनुभएका कैलाली वसन्ताका प्रदेशी चौधरीले शिवजीको आशीर्वादले अहिलेसम्म सबै कुराको फलिफाप भएकाले हरेक वर्ष गंगा दशहरमा मेला भर्न आउने गरेको बताउनुभयो ।
रामपुर गाउँको जंगलकिनार स्थापना भएको सो मन्दिरको इतिहास निकै पुरानो मानिन्छ । मन्दिर परिसरमा महादेव नामको ठूलो तलाउ छ । सो तलाउमै दर्शनार्थीहरु स्नान गरेर दर्शन गर्ने गर्छन् ।
उहिले भारतीयहरुको सो क्षेत्रमा दवदवा थियो । त्यस ठाउँमा बाक्लो जंगल भएकाकारण त्यहाँ मानिसहरुको त्यति बसोबास थिएन । भारतीय बासिन्दाहरु त्यहँ आवतजावत गर्ने गरेको पूर्खाहरुले बताउने गर्छन् । शिवजीको लिङ्ग फेला परेपछि त्यसलाई निकालेर भारतीयहरु आफ्नो ठाउँमा लग्ने लाखप्रयास गर्दा पनि सो लिंग हलचल नभएपछि सोही ठाउँमा मन्दिर निर्माण गरिएको भनाई स्थानीयको छ ।