लक्की चौधरी
काठमाडौं, जेठ २५ गते । पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित यातायात कार्यालयको प्राङ्गणमा धर्ना बस्दैआएका ज्येष्ठ नागरिकहरुले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारसँग आफनो माग मुद्दा सम्बोधनको माग गरेका छन् ।
गोरखापत्रसँग विहिबार सामुहिक कुरागर्दै ज्येष्ठ नागरिकका सदस्यहरुले त्यस्तो माग गरेका हुन् । यसअघिको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो केही माग मुद्दा सम्बोधनमा ध्यान नदिएको आरोप लगाउँदै उहाँहरुले नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवा नेतृत्वको सरकारले माग सुनुवाई गर्नेमा आशा व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकको मासिक भत्ता न्यूनतम पाँच हजार रुपियाँ पु¥याउनुपर्ने, ज्येष्ठ नागरिकलाई ६० वर्षदेखि भत्ता वितरणको व्यवस्था गरिनुपर्ने, यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालमा ५० प्रतिशत औषधिमा छुट हुनुपर्ने लगायतको माग राखी ज्येष्ठ नागरिकका सदस्यहरु धर्ना बस्दै आउनुभएको छ ।
नेकपा (एमाले) का तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० रुपियाँबाट शुरु गर्नुभएको बृद्धभत्ता सोहीदलका वर्तमान अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शतप्रतिशत बृद्धि गरी दुईहजार पु¥याएको स्मरण गर्दै ज्येष्ठ नागरिकहरुले देउवा नेतृत्वको सरकारसँग पाँच हजार बनाउन माग गर्नुभयो ।
ज्येष्ठनागरिक संघर्ष समितिका संयोजक तथा अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले मुलुककै सबैभन्दा ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बनेपछि आफूहरुको माग सम्बोधनको आशा पलाएको बताउनुभयो । ज्येष्ठ नागरिकको धेरै समस्या भएकाले मासिक न्यूनतम पाँच हजार रुपियाँ बनाउन उहाँले माग गर्नुभयो । त्यस्तै, यातायात, औषधिउपचारमा समेत छुटको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
अग्रज समाज नेपालका सहअध्यक्ष नयेन्द्रबहादुर खड्काले ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक दुई हजार भत्ता बरावरको रकम बैंकको खातामा जाने गरेको भएपनि त्यसलाई हातैमा पु¥याउने व्यवस्था गर्न माग गर्नुभयो । अधिकांश ज्येष्ठनागरिक हिडेर बैंकसम्म जानसक्ने भौतिक अवस्था नरहेकोले घरमै उपलब्ध हुने व्यवस्था गर्न उहाँले सुझाव दिनुभयो ।
ज्येष्ठ नागरिक नरबहादुर पन्त (७५) ले खाइपाई आएको मासिक भत्ता निकै न्यून भएकाले न्यूनतम पाँचहजार र बढीमा १० हजारसम्म बनाउन माग गर्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको कार्यक्रममा बृद्धभत्ता बृद्धि गरेर दश हजार रुपियाँ बनाउने आश्वासन दिएको उहाँले स्मरण गर्नुभयो । ज्येष्ठ नागरिकहरुको बस्ने, खाने र आवासको व्यवस्था समेत गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
अर्का ज्येष्ठ नागरिक विष्णुप्रसाद घिमिरे (७७) र प्रभा लम्साल (६७) ले अहिले पाउँदैआएको बृद्धभत्ताले आधारभूत आवश्यकता समेत पूर्ती नभएको बताउनुभयो । उहाँहरु दुवैले बृद्धभत्ता बृद्धि गरी यातायात, औषधिउपचारको तत्काल यथोचित व्यवस्था गर्न माग गर्नुभयो । नेताहरुले आफूलाई थुप्रै आश्वासन दिनेगरेको तर व्यवहारमा कार्यान्वयन नगरेको उहाँहरुको आरोप छ ।
अर्का ज्येष्ठ नागरिक भक्तबहादुर बस्नेत (८७) ले प्रचण्ड नेतृत्वको सरकारले आफूहरुलाई दुःखमात्र दिएको तर केही काम नगरेको आरोप लगाउनुभयो । निरन्तर पाँच वर्षदेखि धर्नामा बस्दासमेत माग सुनुवाई नभएको आरोप लगाउँदै उहाँले धर्नाकै क्रममा १८ जना ज्येष्ठ नागरिकको ज्यान गइसकेको बताउनुभयो ।