काठमाडौं, जेठ २५ गते । उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अवको दश वर्ष भित्र आफू यो मुलुकको प्रधानमन्त्री बन्ने उदघोष गर्नुभएको छ ।
उहाँले राज्यको नेतृत्व तहको उपस्थितिविना थारु, मधेसी, आदिबासी जनजातिको यथोचित माग मुद्दा सम्बोधन हुन नसक्ने बताउनुभएको छ ।
‘थरुहट आन्दोलन माग, मुद्दा र उपलब्धी’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा विहिबार यहाँ उपप्रधानमन्त्री गच्छदारले त्यस्तो बताउनुभयो । लामो समयदेखि थारु र मधेसी समुदाय अधिकारको लडाईमा रहेको भएपनि माग सम्बोधन नभएको बताउँदै उहाँले भन्नुभयो, “सरकार, सदन र सडक यी तीन मोर्चाको संघर्षबाटै हाम्रा माग सम्बोधन हुन्छ ।”
आफू पछिल्लो समय नेपाली राजनीतिको मध्यमार्गी बाटोमा रहेको बताउँदै उहाँले थारु, मधेसी, आदिबासी जनजातिको माग सम्बोधन गराउनकैलागि आफू नेतृत्वको दल नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको दावी गर्नुभयो । सरकारमा थारुको नेतृत्वदायी भूमिकाको खाँचो रहेको बताउँदै उहाँले अवको दश वर्षभित्र आफू मुलुकको प्रधानमन्त्री बन्ने बताउनुभयो ।
सरकारमा जानु ठूलो कुरा नभएपनि काम गरेर देखाउनु ठूलो कुरा भएको बताउँदै उहाँले आफू सरकारमा भएर थारु, मधेसी र आदिबासी जनजातिका लागि धेरै काम गरेको बताउनुभयो । संविधान संशोधनका लागि आफ्नो दलले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उहाँले चाँडै संविधान संशोधन हुने बताउनुभयो । संविधान संशोधन र तराई मधेसका नागरिकमाथि लगाइएको मुद्दा फिर्ता गर्ने सुनिश्चित् भएपछि मात्र सरकारमा सामेल भएको प्रष्ट पार्नुभयो ।
पूर्व मन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका नेता डा. गोपाल दहितले आफू प्रचण्ड नेतृत्वको सरकारमा १० दिनको मन्त्री हुँदा महत्वपूर्ण काम गरेर देखाएको दावी गर्नुभयो । भूमिसुधार मन्त्रीको जिम्मेवारीमा रहँदा मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने निर्देशिका पारित गरेको, मुक्त कमैयाको पुनस्र्थापनाका लागि डेढ अर्व रुपिँया र मुक्त हलियाको पुनस्र्थापनाका लागि करिब १३ अर्व रुपियाँ विनियोजन गरिएको बताउनुभयो । पुस्तक थारु आन्दोलनको ऐना भएको उहाँले बताउनुभयो ।
पूर्व मन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका नेता जीतेन्द्रनारायण देवले आफूहरु तराई मधेस र पहाड हिमाललाई जोड्ने अभियानमा रहेको बताउनुभयो । केही दलले पहाडीया राष्ट्रियताको माग वकालत गरिरहेको उहाँले आरोप लगाउनुभयो । “हामी मोज गर्न र झण्डा हल्लाउन सरकारमा गएका छैनौं, थारु मधेसीको माग मुद्दा सम्बोधन गराउनलाई हो” उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा लेखक मिनराज थारुद्वारा लिखित ‘थरुहट आन्दोलन माग, मुद्दा र उपलब्धी’ पुस्तकको उपप्रधानमन्त्री गच्छदारले लोकार्पण गर्नुभयो । पुस्तकमाथि युग पाठक र कृष्णराज सर्वहारीले टिप्पणी गर्नुभयो । कार्यक्रममा आदिबासी जनजाति उत्थान प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझी, पुस्तकका लेखक चौधरी, थारु नेताहरु फूलमान चौधरी, चन्द्रप्रसाद चौधरी, सीताराम चौधरी लगायतले लेखक चौधरीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कलाकारले थारु तथा हिन्दी गीतमा नृत्य प्रस्तुत पनि गर्नुभएको थियो । वक्ताहरुले टीकापुर घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई तथा थरुहट तराई र मधेसका मुद्दा फिर्ताको माग गर्नुभएको थियो ।