काठमाडौं, जेठ २७ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न माग गरेको छ । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले सो माग अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने भन्दै चुनाव सार्न प्रस्ताव गरेका थिए ।
‘केही प्राविधिक विषय छ भने हामी सम्बोधन गर्छौं । तर, चुनाव सार्न सकिन्न भनेका छौं’ माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् । चुनाव अघि संविधान संशोधन हुनुपर्ने माग गरेका राजपाका नेताहरुले प्रधानमन्त्री देउवाको पछिल्लो भनाई चुनावपछि संविधान संशोधन आफूहरुलाई मान्य नहुने बताएका छन् ।
‘केही प्राविधिक विषय छ भने हामी सम्बोधन गर्छौं । तर, चुनाव सार्न सकिन्न भनेका छौं’ माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तयभएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव सम्पन्न भयो तर, राजपा सहभागी भएन ।
राष्ट्रिय जनता पार्टीको सहभागिताका लागि भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव पनि असार ९ हुँदै १४ का लागि सारेको छ ।
तर, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतको माग राख्दै राजपाले चुनावमा सहभागी हुन आनाकानी गरिरहेको छ ।