‘माओवादी केन्द्रका प्रमुख सचेतकले गाडीचालकलाई तलब दिएनन्’


काठमाडौं, जेठ २७ गते । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतका सवारीचालक राजकुमार पुनले तलब नपाएको गुनासो गरेका छन् ।

सवारीचालक पुनले सवारी चलाएबापतको दुई महिनाको तलब नपाएको भन्दै व्यवस्थापिका संसद सचिवालयमा उजुरी दिने तयारी भएको बताउनुभएको छ । हमार पहुरा डट कमसँग कुरागर्दै चालक पुनले तलब माग्दा उल्टै प्रमुख सचेतक बस्नेतले हप्काएको गुनासो गर्नुभयो । पुनले २०७३ पुसदेखि प्रमुख सचेतक बस्नेतको सवारी चलाउँदै आउनुभएको थियो ।

सवारीचालक राखेको सेवा सुविधाबापत संसद सचिवालयले प्रमुख सचेतक बस्नेतको निजी खातामा तलब जम्मा गर्ने गरेपनि बस्नेतले चालक पुनलाई तलब नदिएको चालकको गुनासो छ । मासिक ३६ हजार तलब तोकिएको भएपनि विविध खर्च कटाएर ३० हजार रुपियाँमात्र आफूले पाउँदैआएको चालक पुनले बताउनुभयो । तर वैशाख–जेठ गरी दुई महिनाको तलब रोकिएको पुनको भनाई छ ।

चालक पुनले तलब प्राप्त नभएपछि गाडीको चावी लिएर जिल्ला गएको बताउनुभयो । रुकुम निवासी चालक तलब नदिंदासम्म गाडीको चावी र चालक अनुमति कार्ड फिर्ता नगर्ने बताउनुभयो । सर्वहारा वर्गको हितको ठूला नारा लगाउने पार्टीले नै मजदूरमारा काम गरिरहेको आरोप चालक पुनको छ ।

प्रमुख सचेतक बस्नेत देश बाहिर रहनुभएकाले उहाँसँग सम्पर्क हुन सकेन । माअ‍ोवादी केन्द्रका सचेतक सीता नेपालीले दुई जनाबीच विवाद भएको आफूले पनि सुनेको भएपनि कति महिनाको तलब पाए नपाएको जानकारी नभएको बताउनुभयो । केहीदिनअघि चालक पुनसँग आफूले पनि सम्पर्क गरी समस्या सामधान हुने भन्दै काठमाडौं फर्कन आग्रह गरेको बताउनुभयो ।

प्रमुख सचेतक बस्नेत सातादिन पछि स्वदेश फर्कनुहुने र पार्टीले सो विषयको टुंगो लगाउने सचेतक नेपालीको तर्क छ । प्रमुख सचेतक बस्नेतले दुईजना गाडीचालक राख्नुभएको र दुवैजनाले पालैपालो गाडी चलाउने गरेको उहाँले जानकारी दिनुभयो ।

संसद सचिवालय अन्तर्गतको शहरी शाखामा समेत जानकारी गराएको बताउँदै पुनले तलब नपाए संसद सचिवालयमा उजुरी दिने बताउनुभयो ।

यता, माओवादीको पूर्व लडाकु समेत रहेका चालक पुनले तलब नपाएको गुनासो माओवादी पार्टीका केही सांसदहरुलाई पनि जानकारी गराएको बताउनुभएको छ । संसद सचिवालय अन्तर्गतको शहरी शाखामा समेत जानकारी गराएको बताउँदै पुनले तलब नपाए संसद सचिवालयमा उजुरी दिने बताउनुभयो । गाडीको चावी लिएर पुनः फरार भएपछि प्रमुख सचेतक बस्नेतले डुब्लीकेट चावी बनाएर गाडी सञ्चालनमा ल्याउनुभएको सचिवालयले जानकारी गराएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले चालकले तलब नपाएको विषय संसद सचिवालयको भन्दा प्रमुख सचेतक बस्नेतको निजी समस्या भएको बताउनुभयो । सचिवालयले नियमाअनुसार दिने सबै सेवा सुविधा बस्नेलाई प्रदान गरेकाले उहाँको पार्टीले सो विषयमा टुंगो लगाउनुपर्ने तर्क गर्नुभयो । यसअघि पनि केही सांसदहरुको त्यस्तो समस्या सचिवालयमा आउने गरेको कुइँकेलको भनाई छ ।

तपाईको प्रतिक्रिया