
दीपक उपाध्याय
कैलाली, जेठ २८ गते । यहि असार १४ गते दोस्रोचरणमा हुन गैरहेको स्थानिय तह निर्वाचनलाई लिएर नेपाली कांग्रेस केन्द्रले एकलौटी निर्णय गरेको भन्दै कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापतिसहित ३४ जना नेता कार्यकर्ताले सामुहित राजिनामा दिएका छन् ।
जिल्ला सभापतिलाई सम्बोधन गर्दै उहाँहरुले सामुहिक रुपमा पदबाट राजिनामा दिएका हुन् । क्षेत्र नम्बर ३ क्षेत्रिय सभापति जीवनप्रसाद श्रेष्ठले भजनी नगरपालिकाको प्रमुख, उप प्रमुखसहित वडा अध्यक्षको टिकट वितरणमा अधिनायकबादी शैलिमा गुटको राजनीति गरिएको आरोप लगाउनुभयो ।

नेताहरुले एकटौली ढंगबाट टिकट वितरण गरेकोले पार्टीको कुनैपनि पदमा नबस्ने गरि राजिनामा दिइएको उहाँको भनाई छ । उहाँले पार्टीका खातिर निरन्तररुपमा वलिदानी दिएका जिम्मेवार साथीहरुलाई उपेक्षा गरेको भन्दै स्वतन्त्ररुपमा अगाडि बढ्ने निर्णय भएको जानकारी गराउनुभयो ।
भजनी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका आकाँक्षी पूर्व गाविस अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्यायले पार्टीले तानाशाहीरुपमा गरेको निर्णयको विरुद्धमा पार्टीबाट राजीनामा दिएको बताउनुभयो ।

सामुहिक राजीनामा दिनेहरुमा नगर सभापति रुद्रप्रसाद जोशी, महासमिति सदस्य सरिता उप्रेती, पूर्व क्षेत्रिय सभापति (क्षेत्र नं. ३) तेजराम चौधरी, नगरसचिव टेकराज न्यौपाने, पूर्व जिल्ला कार्य समिति सदस्य प्रमोद उप्रती लगायत छन् ।




