घरआँगनमै सरकार भएको महुशस हामीले दिलाउने छौंः नेता चौधरी


नेकपा (एमाले) घोराही दाङका अध्यक्ष समेत रहनुभएका नरुलाल चौधरी अहिले घोराही उपमहानरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार हुनुहुन्छ । असार १४ गतेका लागि तोकिएको निर्वाचनको चुनावी प्रचारको चटारो लागेकाबेला उम्मेदवार चौधरीसँग गरिएको कुराकानीको सारसंक्षेप

उपमहानगरपालिकामा तपाईंको उम्मेदवारी केका लागि ?
नेकपा (एमाले) ले मलाई घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार तोकेको छ । एमालेको उम्मेदवारलाई किन जिताउने भन्ने कुरा एमालेले गरेको क्रियाकलापसँग सम्बन्ध राख्दछ । एमालेले देशमा जतिबेला सत्ता सञ्चालन गर्ने अवसर पायो, त्यतिबेला आमदेशवासीले केही न केही पाएका छन् । एमालेले जनहितका लागि काम गरेको छ । नौ महिने मनमोहन सरकारदेखि केपी शर्मा ओलीको सरकारसम्म आइपुग्दा नागरिकलाई केही न केही दिएको छ । नागरिक हितका काम गरेको छ । अरू राजनीतिक दलहरूले जित्दा के पाए भनेर खोज्दा खासै भेटिदैन तर एमालेले सत्ता सम्हालेकाबेला जनताले केही पाउँछन, केही भेट्टाउँछन् ।

जनताले भोट हाल्ने भनेकै केही पाउनलाई हो । अधिकार पाउनलाई हो । विकास पाउनलाई हो । समृद्धि पाउनलाई हो । सुशासन पाउनलाई  हो । यी हकअधिकार प्रत्यक्ष रूपमा पाइएको महसुस गराउने पार्टी एमाले हो । तसर्थ एमालेले उठाएको उम्मेदवारलाई अध्यधिक मतले विजय गराउन मतदाता हिच्किचाउनुभएको छैन, अझै उत्साहकासाथ मत हाल्न आतुर हुनुहुन्छ ।

बिरासतअनुसारका तपाईका ऐजेन्डा के छन् त ?

अवश्य पनि । हामी जनताको हकअधिकार स्थापित गर्ने कुरामा मात्रै होइन, उहाँहरूको विकास, समृद्धि, रोजगार र सुशासनको आकांक्षालाई सम्बोधन गर्नेगरी नयाँ कार्यक्रम ल्याउँदै छौं । अहिलेसम्म एमालेले राष्ट्रियताको पक्षमा अडिग भएर बसेको छ । जनता र जनजीविकाको पक्षमा छ । वृद्धभत्ता, एकल महिला लगायतका थुप्रै सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन त एमाले अगाडि नै छ । यसलाई हामीले हिजो केन्द्र सरकारमा रहँदा ल्यायौं, अब त स्थानीय सरकार बन्दै छ । घरआँगनमै बन्ने सरकार सञ्चालन गर्ने अवसर यदि मतदाताहरूले दिनुभयो भने नागरिकका सुखदुःखका हरेक काम र सामाजिक सुरक्षा, विकासका कार्यक्रम ल्याउनेछौं । यो हाम्रो प्रतिबद्धता हो ।

२० वर्षपछि नागरिकले जनप्रतिनिधि पाउँदै छन् । लामो समयसम्म जनप्रतिनिधि नपाउँदा नागरिकले दुःख, पीडा भोग्नुपरेको छ । अझ भन्ने हो भने गणतन्त्र आएको महसुस गर्न पाएका छैनन् । त्यसैले, नयाँ संरचनाअनुसार ऐतिहासिक चुनाव हुँदैछ । त्यसबाट आउने प्रतिनिधिले जनताको पक्षमा काम गर्ने हो । त्यसकालागि हामी तयार भएर आएका छौं । पहिलो कुरा त जनतालाई सुशासन चाहिएको छ । जनप्रतिनिधि नहुँदा नागरिकले धेरै समस्या भोग्नुपरेको छ । हामी जनतालाई सुशासन दिन चाहन्छौं । त्यस्तै पारदर्शितालाई बढावा दिन चाहन्छौं भने घोराही उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउन चाहन्छौं । सबै वडा जोडेर नयाँ रिङरोड निर्माण गर्ने योजना ल्याएका छौं ।

त्यस्तै, घोराही नगरक्षेत्र अव्यवस्थित बन्दैगएको देखिन्छ । यहाँको जमिनको सही सदुपयोग गर्न भूउपयोग नीतिअनुसार कामगर्ने, यहाँको जमिनमा बढीभन्दा बढी कृषि उत्पादन गर्नकालागि कृषि क्षेत्रको विकासलाई पनि उत्तिकै प्राथमिकताकासाथ काम गर्नेछौं । यहाँका साना उद्योग, कुखुरापालन व्यवसाय, माहुरीपालन व्यवसाय, बाख्रापालन व्यवसायलाई सञ्चालन गर्न विशेषज्ञ डाक्टर, प्राविधिक छैनन्, हामी कृषि प्राविधिकहरूको व्यवस्था गर्नेछांै । जसले उद्योग, व्यवसाय, कृषि क्षेत्रको विकास हुँदा जनताले रोजगारी पाउनेछन् र नागरिकको जीवन उकास्न त्यसले ठूलो भूमिका खेल्ने छ ।

त्यस्तै, यहाँको जग्गा व्यवस्थापन गर्ने कुरा पनि छ । कैयौं भूमिहीन, सुकुम्बासीहरूको पुनःस्थापनाको कामपनि गर्नुपर्नेछ । अहिलेसम्म बनेका सुकुम्बासी आयोग व्यवस्थित हुन सकेन । यसअघि एमालेको नौ महिने कालमा सुकुम्बासीहरूलाई पुर्जा बाँडिएको छ । अब फेरि राम्रोसँग छानबिन गरेर वास्तविक सुकुम्बासीहरूलाई पुनःस्थापित गर्ने काम हामीले गर्नेछौं ।

घरआँगनमै सरकार आयो भन्ने कुरा नागरिकलाई अनुभूत गराउन के गर्नुहुन्छ ?

मैले माथि पनि भनें । हाम्रा योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने हो भने नागरिकले घरदैलोमै सरकार आएको महसुस गर्नेछन् । खासगरी जनताले विकासका माध्यमबाट, रोजगारीको सिर्जना गरेर, शिक्षामा गुणस्तर कायम गरेर, सरकारी विद्यालयको गुणस्तर सुधार गरेर, हामीलाई उपचारकैलागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गरेर, घरआँगनमै उपचार सेवा प्रवाह गरेर, स्वच्छ पानी, बिजुली बत्तीको सेवा दिएर साँच्चिकै नागरिकलाई गणतन्त्र आयो, सरकार छ भन्ने अनुभूति हामी गराउनेछौ । त्यो एमालेले गर्छ, हामीले गर्छौ ।

पार्टीमा देखिएको असन्तुष्टिले समस्या आउनेजस्तो लाग्दैन काम गर्न ?

त्यस्तो असन्तुष्टिका कुरै छैनन् । ठूलो पार्टीमा खासगरी चुनाव लड्नेबेला धेरै आकांक्षी हुनु, इच्छा जाहेर गर्नुलाई लोकतन्त्र, गणतन्त्रकै सुन्दर पक्ष हो । मेयर, उपमेयर, प्रमुख, उप्रमुख भएर काम गर्नसक्ने योग्य, दक्ष साथीहरू हुनुहुन्छ । तर पार्टीले उम्मेदवारको टुंगो लगाइसकेपछि हामी एमालेहरू सबै एक छौ, एमालेका उम्मेदवारहरूलाई विजयी गराउन आमनेता कार्यकर्ता घरदैलोमा पुगिसकेका छौं । पहिलोचरणको चुनावले पनि देखाएको छ । एमालेसँग राम्रो भिजन छ । योग्य उम्मेदवार छन् । त्यसैले उनीहरूलाई मतदान गर्नुपर्छ भन्ने कुरा पुष्टि भइसकेको अवस्थामा अब दोस्रो चरणको निर्वाचनमा पनि हामीले त्यही चाहेका छौं । जनताको विश्वास झन् बलियो भएर आउने   छ ।

मतदाताहरूलाई भन्नुपर्ने केही छ ?
म उम्मेदवारका हिसाबले घरदैलोमा पुगिरहेको छु । मतदाताहरूसँग पार्टीका ऐजेन्डा पनि राखिरहेको छु । अवसर पाएर पनि सत्तामा रहँदा जनताकालागि काम नगर्नेहरूलाई मतदान गर्नुहुने छैन । एमालेले जनताको काम गर्छ, गरेको छ, त्यसैले एमालेलाई नै मतदाताले मतदान गर्नुहुनेछ भन्ने अपिल गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया