महेश चौरसीया
सर्लाही, जेठ २९ गते । संघीय समाजवादी फोरम नेपालको कार्यक्रम विथोल्न खोज्दा फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का कार्यकर्ताबीच घम्साघम्सी भएको छ ।
सर्लाहीमा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेको सो दलले जनाएको छ ।
करिब दुई सयको संख्यामा रहेका राजपा कार्यकर्ताले फोरम नेपालको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । तर, संयौंको संख्यामा रहेका फोरम कार्यकर्ताले राजपाको अवरोधलाई विफल पारेका थिए । राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीमैं उनीहरुको कार्यकर्ता लखेटिएको फोरम नेताको दावी छ ।
राजपाका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादवको गृहजिल्ला सर्लाही पुगेर अवरोधकाबीच यादवले तामझामकासाथ चुनावी कार्यक्रम सफल पारेका छन् । सर्लाहीे क्षेत्र न.ं ५ को मधुवन गोठमा आइतबार दिउँसो आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका करिब दुईसय कार्यकर्ताले अवरोध गर्न खोजेको बताइएको छ । सो क्रममा राजपाका कार्यकर्ताले कालो झन्डा समेत देखाएका थिए ।
सर्लाहीे क्षेत्र न.ं ५ को मधुवन गोठमा आइतबार दिउँसो आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका करिब दुईसय कार्यकर्ताले अवरोध गर्न खोजेको बताइएको छ ।
राजपाका कार्यकर्ताहरुले बिहानैदेखि टायर बालेर सडक अवरोध गर्न खोजेका थिए । कालो झन्डा देखाउन खोजेपछि राजपा र फोरम नेपालका कार्यकर्ताबीच सामान्य झडप भएको थियो ।
राजपालाई उपेन्द्र यादवको सुझाव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको माग र एजेन्डामा प्रष्ट हुन राजपाका नेतालाई सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले एजेन्डाभन्दा बाहिर गएको राजपालाई मधेशका जनतालाई दिग्भ्रमित नपार्न सुझाव दिए ।
‘राजपा आफ्नै एजेन्डामा प्रष्ट छैन । कहिले यो कहिले त्यो भन्छ । जाने कहाँ हो, पुगिने कहाँ हो ? त्यसमा उनीहरु आफै क्लियर छैनन्’– यादवले भने । स्थानीय चुनावलाई संघर्षको कार्यदिशा बनाउनु पर्नेमा मधेशलाई विकासबाट बञ्चित गर्ने दुष्साहस नगर्न समेत उनले राजपालाई सुझाव दिए ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मधेशलाई विकासको मूलसँग जोड्न र आगामी आन्दोलनको लागि शक्ति सञ्चय गर्ने उद्देश्यले फोरम नेपाल चुनावमा होमिएको यादवले प्रष्ट पारेका थिए ।