
राजधानीमा बसोबास गर्दैआएका थारु समुदाय र कामविशेषले माघी पर्वमा घरजान नपाएका थारु समुदायका लागि विगत १५ बर्षदेखि राजधानीमै थारु कल्याणकारिणी सभा उपत्यका समितिले माघी महोत्सवको आयोजना गर्दैआएको छ । दुई बर्ष अगाडि मात्रै माघी महोत्सवमा आर्थिक पारदर्शिता, कामको बाँडफाड, जिम्मेबारी बहन लगायत सन्दर्भमा विवाद देखिएपछि माघी महोत्सव दुई ठाउँमा शुरु भएको थियो । २०७२ सालबाट राजधानीमै दुई समुहमा विभाजन भएर माघी महोत्सब हुँदैआएको छ । त्यही बेलादेखी दुई समुहबीच एकअर्कामाथि दोषारोपन हुँदैआएको प्रष्ट छ । आउनुहोस् शुरुगरौ यी दुई बीच पछिल्लो समयमा चुलिएको विवादको रहस्योउद्घाटनतिर ।
म कुनै पक्षलाई पुर्वाग्रही देखाउने पक्षमा छैन् । नत कुनै पक्षलाई दोषारोपण नै गर्ने पक्षमा छु । पूर्व पश्चिम, उत्तर दक्षिण जहाँ बसोबास गरेपनि हामी सबै थारु एक हौ । हाम्रो धर्म फरक होला, भाषा फरक होला, रीतिरिवाज फरक होला, कला संस्कृति फरक होला । तर हाम्रो पहिचान एउटै छ, हामी थारु । थारु समुदाय अहिले हक र अधिकारका लागि राज्यसँग लड्दै छ । तर राजधानीमा बस्ने थारु समुदाय गुटगुटमा विभाजन भई आफै आफैमा मतभेद बढाउदै छ । एक अर्काप्रति आरोप प्रत्यारोप लगाउनमा ठिक्क छ । यो विवाद यतिबेला सामाजिक संजालमा निकै चर्चाको विषय बनेको छ । एकले अर्कालाई गाली गर्या छ डर धम्की दिएको छ । यस्तै यस्तैले भरिएको छ सामाजिक संजाल । यतिबेला त लाग्छ दुई फुटबल टोली जो एकअर्काको प्रतिद्वन्दी छन् । दुबैले गोल हान्नै पर्ने, जित्नै पनर्,े न त रामेको टोली कम नत श्यामेको टोली नै कम ।
केही दिन अगाडी मात्रै मन्त्रिपरिषदको बैठकले थारु विद्यार्थी समाजले राजधानीको टुडिखेलमा आयोजना गरेको माघी महोत्सवलाई पहिलोचोटी चार लाख पचास हजार दिने निर्णय गर्यो र विगत १५ बर्षदेखि राजधानीमा माघी महोत्सवको आयोजना गर्दैआएको थारु कल्याणकारीणी सभा उपत्यका समितिलाई २ लाख ५० हजार रुपैया मात्रै दिने निर्णय गर्यो । यो निर्णयसंगै यतिबेला दुई समुहबीच विवाद उत्कर्षमा पुगेको छ ।
थारु कल्याणकारिणी सभा उपत्यका समितिको आरोप
थारु कल्याणकारिणी सभा उपत्यका समितिले प्रत्येक बर्ष थारु कल्याणकारिणी सभा उपत्यका समितिलाई दिईने पैसा थारु विद्यार्थी समाजलाई दिएको आरोप लगाएको छ । थारु कल्याणकारिणी सभा उपत्यका समितिलाई दिनुपर्ने पैसा चोर बाटो भएर बर्दियाली थारु विकास मन्चलाई पास गराएको आरोप लगाएको छ । समितिले पुर्व भुमिसुधार मन्त्री गोपाल दहितले आफ्नो शक्तिको दुरुपयोग गरी थारु कल्याणकारीणी सभा उपत्यका समितिलाई आउने पैसा बर्दियाली थारु विकास मन्चलाई निकासा गरेको आरोप लगाएको छ । समितिले सिङ्गो अधिराज्यको थारुलाई समेटिएको थारुकल्याणकारीणी सभालाई राज्यले बाईबास गरी एउटा जिल्लालाई मात्रै लक्ष्य गरी खोलेको बर्दियाली थारु विकास मञ्चलाई पृष्ठपोषण गरेको आरोप लगाएको छ । थारु कल्याणकारीणी सभा उपत्यका समितिले पाउदै आएको रकमलाई कट्टा नगरी थारु विद्यार्थी समाजलाई छुट्टै उपलब्ध गराउदा राम्रो हुने समितिको भनाई छ ।

समितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र अर्थ मन्त्रालयबाट फाईल पास गराए पनि क्याविनेटले फाईल पास गरेन । र उसको निर्णय बर्दियाली थारु विकास मन्चलाई ४ लाख ५० हजार र थारु कल्याणकारिणी सभालाई २ लाख ५० हजार दिने निर्णय गर्यो ।
थारु कल्याणकारीणी सभाले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र अर्थ मन्त्रालयमा दर्ता गरेको फाईल फोटो सहित ।।

थारु विद्यार्थी समाजको खण्डन
उता थारु विद्यार्थी समाज लामो समयदेखि नविकरण हुन नसक्दा माघी महोत्सबका लागि सरकारले आर्थिक सहयोग दिएको बर्दियाली थारु विकास मञ्चको खातामा गएको जानकारी दिएको छ । समाजले कुनै संस्थाको बजेटबाट नखोसेको स्पष्ट पारेको छ । बजेट निकासीमा गोपाल दहीतको कुनै हात नभएको समेत प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
हेर्नुहोस् प्रेस विज्ञप्तीे

खैर जे होस, दुबै पक्षले मिलनबिन्दु खोज्नु नै आजको आवश्यकता हो । नकी आपसमा लडेर, भिडेर, जुधेर समस्याको समाधान हुने कुरा नै हो । थारुमा एउटा भनाई छ भाई फुटे गवार लुटे, अर्थात भाई भाईमा फुट भयो भने बाहिरी तत्व खेल्ने ठाउँ प्रशस्त हुन्छ । अहिले आपसमा फुटाएर खेल्न खोज्ने तत्वहरु हाबी भएको सवैलाई हेक्का हुनुपर्छ । हामी पुर्वेली हौ या पश्चिमेली हौ । तर केबल थारु । फुट्ने कुरा किन गर्छौ जुट्ने कुरा गरौं ।

अन्त्यमा मेरो लेखमा दुई समुहबीच लडाउने भिडाउने मेरो कुनै उद्देश्य होईन । दुई समुह मध्यमार्गी बाटो खोजेर मिलनबिन्दुमा पुग्नु नै आजको आवश्यकता हो भन्ने मेरो ठम्याई पनि हो ।। माघी महोत्सव अर्को वर्षपनि आउँछ । फेरि यस्तै समस्या दोहोरिदै गएपछि हामीबीचको फुट अझै झांगिदै जाला । यसप्रति पनि समयमै ध्यान दिन सके उत्तम हुन्छ ।



