लक्की चौधरी
काठमाडौं, असार ३ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता आइतबार विहान ८ देखि साँझ ४ बजेसम्मका लागि निर्वाचन आयोगले निर्धारण गरेको छ ।
निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताएको छ । प्रदेश नं. १, ५ र ७ मा हुन गइरहेको निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था पनि भरपर्दो बनाएको भन्दै आयोगले निर्धक्क भएर मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आव्हान गरेको छ ।
यसअघि प्रथम चरणको वैशाख ३१ मा भएको निर्वाचनबाट ३४ जिल्लाका २८३ मध्ये २८२ स्थानीय तहको मतपरिणाम आइसकेको आयोगले जनाएको छ । भरतमपुर महानगरपालिकामा विवादकाकारण मतगणना हुन सकेको छैन । दोस्रो चरणमा ३५ जिल्लाको ३३४ स्थानीय तहको निर्वाचन हुन गइरहेको आयोगले जनाएको छ । प्रदेश नं. २ को निर्वाचन असोज २ का लागि तोकिएको छ ।
दोस्रो चरणमा एक महानगरपालिका (विराटनगर), सात उपमहानगरपालिका, एकसय ११ नगरपालिका र दुईसय १५ गाउँपालिकाको निर्वाचन हुने आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिंदैछन् । त्यसबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुन गइरहेको आयोगले बताएको छ ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनकालागि चारहजार ५८१ मतदान स्थल र त्यसकालागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । सो निर्वाचनमा सुरक्षाकर्मी बाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
दलकातर्फबाट उम्मेदवारी दिंदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसंख्यक लगायतका उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले बताएको छ ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, पारदर्शी, भयरहित र विश्वसनीय बनाउन सरकारको तर्फबाट सुरक्षाको प्रतिवद्धता आएको बताउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भागलिन सबै मतदातालाई अपिल गरेको छ । मतदान प्रक्रियामा कसैले अवरोध सिर्जना गर्नखोजे सुरक्षाकर्मीले तदारुकताकासाथ त्यसलाई निरुत्साहित गरी शान्ति सुरक्षाको व्यवस्था गर्नेमा आयोग विश्वस्त रहेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
निर्वाचनलाई थप विश्वसनीय बनाउन गत फागुन १८ देखि आचारसंहिता कार्यान्वयनमा रहेको र त्यसको अनुगमनकालागि आयोगका आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति बनाइएको आयोगको भनाई छ । आचारसंहिता उल्लंघन गर्नेलाई जरिवाना गर्नसक्ने कानूनी व्यवस्था छ । केही संवेदनशील जिल्लामा सुक्ष्म अनुगमनकर्ता पनि खटाइएको आयोगले बताएको छ ।
दोस्रो चरणको निर्वाचन
निर्वाचन हुने प्रदेशः १, ५ र ७
जिल्लाः ३५, स्थानीय तह संख्याः ३३४
निर्वाचनहुनेः महानगरपालिका १, उपमहानगरपालिका ७, नगरपालिका १११ र गाउँपालिका २१५ ।
मतदाता सख्याः ६४ लाख ३२ हजार ७६५ जना ।
निर्वाचित हुने प्रतिनिधि संख्याः १५ हजार ३८ जना ।
मतदान स्थलः ४ हजार ५८१ । मतदान केन्द्रः ८ हजार ३६४ ।
खटिने कर्मचारी संख्या (सुरक्षाकर्मी बाहेक)ः ६६ हजार ९०० ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन तालिम प्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोको व्यवस्था गरिएको, प्रदेश नं १, ५ र ७ मा आठ हजार ३५० कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो । त्यसको अलावा सञ्चारमाध्यममा पनि मतदाता शिक्षासम्बन्धी १६ भाषाका सूचना तथा सन्देशहरु प्रकाशन र प्रशारणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
पहिलो चरणको निर्वाचन निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखी दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने सरकारले प्रतिवद्धता जनाएको प्रमुख आयुक्त डा. यादवले बताउनुभयो । दोस्रो चरणको निर्वाचन पर्यवेक्षणका लागि ४७ संस्थाका करिब सातहजार ८९ जना पर्यवेक्षकलाई अनुमति दिइएको आयोगले बताएको छ ।
आयोगले यसअघिको पहिलो चरणको निर्वाचनमा १२ वटा कुटनीतिक नियोगका सदस्यलाई निर्वाचन अवलोकनको व्यवस्था गरेको थियो भने दोस्रो चरणको निर्वाचनमा काठमाडौं उपत्यकामा रहेका कुटनीतिक नियोगका सदस्यहरुलाई विभिन्न ८ शहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
उहाँकाअनुसार प्रदेश नं १ को विराटनगर र धनकुटा, प्रदेश नं. ५ को भैरहवा र पाल्पा, प्रदेश नं ७ को धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको व्यवस्था गर्ने तयारी पनि आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो । त्यस्तै, निर्वाचनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि आयोगमा कल सेन्टर सञ्चालनमा रहेको र केही संवेदनशील मतदान स्थललाई अत्याधुनिक प्रविधिको प्रयोग गरी आयोगबाट सोझै अनुगमनको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
प्रथम चरणको निर्वाचन सफल बनाउनमा सञ्चारमाध्यमको अहम भूमिका रहेकोमा प्रसंशा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनमा पनि सहयोगको अपेक्षा आयोगलाई रहेको बताउनुभयो । उहाँले निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रियामा सत्साहपूर्वक सहभागी हुन राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा निर्वाचन आयुक्तहरु ईला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, सुधिरकुमार साह, सचिव गोपीनाथ मैनालीसहित आयोगका अन्य कर्मचारीहरुको सहभागिता थियो ।