काठमाडौं, असार ४ गते । राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका केन्द्रीय कोषाध्यक्ष अनिता यादव आइतबार एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसहित राजपा केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि एमालेमा प्रवेश गर्नुभयो ।
पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव र महासेठलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउनुभयो ।
यादवले राजपा पार्टीमा अतिवादी प्रवृत्ति सुरुभएको भन्दै शनिबार नै पार्टीसमक्ष राजीनामा दिनुभएको थियो । ‘पछिल्लो कालखण्डमा मधेसी जनताले वास्तविकरुपमा खोजेको समन्याय, समानता र समृद्धिको एजेन्डाबाट पार्टी विचतिल भएको,’ राजीनामा पत्रमा उहाँले उल्लेख गर्नुभएको छ । राजनीतिको नाममा पूर्णरुपले अतिवाद पलाएकोमा मेरो घोर आपत्ति र असन्तुष्टि छ’ राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
यादवले २४ वर्षे राजनीतिक यात्रामा १० वर्ष मधेसकेन्द्रित दलमा बिताएको उल्लेख गर्दै आफू आफ्नै पुरानो घरमा फर्किएको बताउनुभयो । उहाँले आफूविरुद्धका भ्रम चिर्न नसक्दा एमालेले तराई मधेसमा भावनात्मक क्षति व्यहोरोको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
धनुषा– ५ मा कांग्रेसका डा. चन्द्रमोहन यादवले ११ हजार ७ सय ५ मत ल्याई निर्वाचित हुँदा एमालेका रघुवीर महासेठले १० हजार २३ मत पाएका थिए भने अनिताले तमलोपाबाट ८ हजार ३ सय ६५ मत पाउनुभएको थियो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध कुनै भ्रम फैलाउने प्रवृत्ति विस्तारै निरुत्साहित हुँदै गएको बताउनुभयो । उहाँले मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गर्नेक्रम यतिमै सीमित नहुने दाबी गर्नुभयो । कुनैपनि पद, लोभ र स्वार्थबिना एमालेमा प्रवेश गर्नु नै आफूहरुको ठूलो सम्पत्ति भएको ओलीले उल्लेख गर्नुभयो।
यादव तत्कालिन तमलोपा कोषाध्यक्ष श्रीकृष्ण यादवकी श्रीमती हुन् । यादवको दुर्घटनामा निधन भएपछि अनिताले दोस्रो संविधानसभा निर्वाचनमा धनुषा– ५ बाट चुनाव लड्नुभएको थियो । धनुषा– ५ मा कांग्रेसका डा. चन्द्रमोहन यादवले ११ हजार ७ सय ५ मत ल्याई निर्वाचित हुँदा एमालेका रघुवीर महासेठले १० हजार २३ मत पाएका थिए भने अनिताले तमलोपाबाट ८ हजार ३ सय ६५ मत पाउनुभएको थियो ।
अनिताका पति श्रीकृष्ण यादव लामो समय एमालेकै राजनीतिमा हुनुहुन्थ्यो । २०६३ सालमा महन्थ ठाकुरको नेतृत्वमा तमलोपा स्थापना भएपछि उहाँले एमाले परित्याग गर्नुभएको थियो ।
तराई मधेसप्रति अनुदार आरोप लागेको एमालेले पछिल्लो पटक मधेसकेन्द्रित दलका उच्चतहका नेता नै भित्र्याएको छ । उसले यसअघि राजपाकै केन्द्रीय सहमहामन्त्री समिम मियाँ अन्सारीलाई पार्टीमा भित्र्याएको थियो भने वीरगन्जमा माओवादी नेता बसरुद्दिन अन्सारी एमालेमा प्रवेश गरेका थिए ।