उपेन्द्र यादवको राजपालाई चुनौती ‘कि आरोप पुष्टि गर कि माफी माग’


महेश चौरसिया
काठमाडौं, असार ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिनुभएको छ ।

‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले कि आरोप पुष्टि गर्न सक्नुपर्छ कि तत्काल माफी माग्नुपर्छ अध्यक्ष यादवले भन्नुभयो । फोरम नेपालका अध्यक्ष यादवले राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको दावी गर्नुभयो । दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले टिप्पणी गर्नुभयो ।

‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन्, अध्यक्ष यादवले भन्नुभयो, ‘राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेवारपूर्ण हर्कत मधेशका लागि घातक छ ।’

राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष यादवले मनिश सुमन आफैले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुनसक्ने नामैलिएर टिप्पणी गर्नुभयो । ‘अरुमाथि यसरी आरोप लगाउने राजपाजस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकोले अरुको चरित्रहत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाइरहेको उहाँको आरोप छ । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन्, अध्यक्ष यादवले भन्नुभयो, ‘राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेवारपूर्ण हर्कत मधेशका लागि घातक छ ।’

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गर्नुभयो । राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया