सत्तापक्षीले सरकारी साधनस्रोत दुरुपयोग गरेको एमालेको आरोप


काठमाडौं, असार ६ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले सत्तापक्षी दलले सरकारी साधन र स्रोतको दुरुपयोग गरी चुनाव प्रभावित पार्ने प्रयास गरिररहेको आरोप लगाएको छ ।

महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ती जारीगर्दै त्यस्तो आरोप लगाउनुभयो । एमाले नेता र कार्यकर्तामाथि भइरहेको सिलसिलाबद्ध आक्रमण, शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्ने काम तत्काल बन्द गर्न सत्तापक्षी दललाई एमालेको आग्रह छ ।  बाजुराको छेडेदह ६ मा असार ४ गते एमालेको जुलुशमाथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरी एकजनाको हत्या गरेको, मुद्दा दर्ता गर्नखोज्दा मुद्दा दर्ता गर्न नमानेको, अपराधीलाई पक्राउ नगरिएको आरोप एमालेको छ ।

प्रहरी प्रशासनले सत्ताको दवावमा परेको महासचिव पोखरेलले आरोप लगाउनुभएको छ । त्यस्तै, बाँकेको आमसभामा माओवादी केन्द्रका कार्यकर्ताले विथोल्ने प्रयास गरेको, सोलुखुम्बुको नेचासल्यान्टार गाउँपालिकामा कांग्रेसका सांसदकै उपस्थितिमा एमाले कार्यकर्तामाथि हातपात भएको, दार्चुलामा सत्तापक्षी दलका कार्यकर्ताले एमालेको कार्यकर्तामाथि आक्रमण गरेको आरोप एमालेको छ ।

निर्वाचन आयोगले जारीगरेको निर्वाचन आचारसंहिता सत्तापक्षी दलले उल्लंघन गरिरहेको, सत्ताको आडमा एमालेका कार्यकर्तालाई तर्साउनेजस्ता हर्कत बन्दगरी निर्वाचनलाई मर्यादित, सभ्य र भयरहित बनाउन एमालेले सत्तपक्षी दलसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया